राष्ट्रसंघका विशेष प्रतिवेदक आज नेपाल आउँदै

रिपोर्ट नेपाल | 2018 Nov 19 | 09:01 am 2565

काठमाडौं, मंसिर २: महिला हिंसाविरुद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको दशदिवसीय भ्रमणमा आगामी सोमबार काठमाडौँ आउने भएका छन्।

भ्रमणका क्रममा उनले लिङ्गका आधारमा महिलाविरुद्ध हुने हिंसा, भेदभाव, आदिवासी, शरणार्थी महिला, शारीरिक रुपमा अक्षम महिला, आप्रवासी तथा ग्रामीण एवं सुदूर क्षेत्रका महिलाका अवस्थाबारे जानकारी लिने राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट पहिलोपटक स्वतन्त्र अध्ययनका निम्ति खटिनुभएकी विशेष प्रतिवेदक सिमोनोभिचले महिला हिंसाविरुद्धका नेपालका ऐनकानुन, नीति नियमबारे जानकारी लिनका साथै वरिष्ठ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

केन्द्रका अनुसार संयुक्त राष्ट्रसङ्घमा आबद्ध निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय नियोग, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग, हिंसाबाट जोगिएका नागरिकहरुसँग पनि छलफल गर्नेछन्। विशेष प्रतिवेदक सिमोनोभिचले आफ्नो प्रतिवेदन आगामी वर्ष मानवअधिकार परिषद्मा प्रस्तुत गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.