राष्ट्रपतिद्वारा यमपञ्चकको शुभकामना

रिपोर्ट नेपाल | 2019 Oct 27 | 08:51 am 1811

काठमाडौं, कात्तिक १०: राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)को शुभकामना व्यक्त गरेकी छन् । यसले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरेकी छन्।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्धन र लक्ष्मीको पूजा गरी साँझमा दिपावली गर्ने तथा अन्तिम दिन भाइटीका लगाउने परम्परा रही आएको उल्लेख छ ।

सन्देशमार्फत तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन्।

यस पर्वको अभिन्न अङ्गका रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्। समाजमा शान्ति एवम स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, राष्ट्रपति भण्डारीद्वारा शुभकामना सन्देशमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.