राष्ट्रपतिकी आमा छोरीद्वारा गरिन पलाञ्चोक भगवतीमा पूजाअर्चना

| 2018 Oct 17 | 01:45 pm 2559

काभ्रेपलाञ्चोक, असोज ३१ :  विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् ।

पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेका हुन्। विहान ९ः३५ बजे भगवती मन्दिर पुगेका थिए । राष्ट्रपति भएपछि उनले यस मन्दिरमा पूजाअर्चना गरेका यो दोस्रोपटक हो । उनीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी थिए ।

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए ।

उक्त अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराए ।

राष्ट्रपति भण्डारीले यस विषयमा सरकारसँग कुरा गर्ने बताइन् । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.