राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2019 Oct 21 | 01:55 pm 2310

काठमाडौं, कात्तिक ४: राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोकियोमा रहेको ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ ।

राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको नेपाली प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए । राष्ट्रपति भण्डारी जापानी सम्राट नारुहितोको शुभ राज्याभिषेकमा सहभागी हुन आइतबार टोकियो पुगेका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल पार्न जापानी सहयोगका लागि आग्रह गरे । उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन जापानी प्राध्यापक केन्जो टाँगेले बनाएको गुरुयोजनाले पूर्णता पाउने विश्वास पनि व्यक्त गरे ।

जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई देशबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताए । उनले सोमबार काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङमार्ग शिलान्यास हुन लागेकामा खुशी व्यक्त गरे ।

जापानी प्रधानमन्त्री आबेले आफ्नो सरकारले अध्यागमन कानुनलाई संशोधन गरी वैदेशिक रोजगारको क्षेत्रलाई सरल बनाएको र ९० हजारभन्दा बढी नेपाली जापानमा कार्यरत रहेको जानकारी दिए । उनले लुम्बिनीलाई बुद्ध दर्शनको उद्गम केन्द्रको रुपमा विकास गर्न सहयोग गर्ने आश्वासन दिँदै जापानमा आएको आँधीबेरीबाट भएको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेकोमा धन्यवाद दिए ।

उनीहरुबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौं ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझैँ जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको सचिव वैरागीले बताए ।

बैठकमा वातावरण तथा जलवायु परिवर्तनको प्रभावबारे सन् २०२० को अप्रिलमा नेपालले सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिइएको उनले उल्लेख गरे ।

भेटवार्तामा गृहमन्त्री रामबहादुर थापा, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.