काठमाडाैं, कात्तिक २५ः राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि कामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने बताइन् ।
उनले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरिन् ।