राष्ट्रपति ज्यू आफू चाहिँ महँगो पानी पिउनु हुने, अनि जनताले चाहिँ कोलिफर्मयुक्त पानी पिई रहनु पर्ने ?

रिपोर्ट नेपाल | 2018 Jul 12 | 03:54 pm 3435

काठमाडौँ, असार २८ : काठमाडौँ उपत्यकामा प्रयोग हुने जारको पानीमा ९० प्रतिशत भन्दा बढीमा हानिकारक जीवाणु कोलिफर्म फेला परेपछि राष्ट्रपति विद्यादेवी भण्डारी सतर्क भएकी छिन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ५० वटा ब्रान्डका जारको नमुना परीक्षण गर्दा ९० प्रतिशत भन्दा बढीमा दिशामा पाइने कोलिफर्म तथा मानव स्वास्थ्यका लागि घातक जीवाणु फेला परेको थियो । एक सय मिलिलिटर पानीमा ३ सयभन्दा धेरै समूहका कोलिर्फम पाइएका छन् । यस्तै, ७४ प्रतिशत पानीमा दिशामा हुने इकोली नामक जीवाणु भेटिएको नष्टले जनाएको छ । सरकारी मापदण्ड अनुसार पिउने पानीमा यी दुवै जीवाणु शून्य हुनुपर्छ ।

पानीमा यस्तो जीवाणु फेला पर्ने थालेपछि राष्ट्रपति भण्डारीले पानीको प्रयोग बदलेकी छिन् । उनले जारको पानी प्रयोग नगर्ने भएकी छिन् । अब राष्ट्रपति भण्डारीको निर्देशनमा राष्ट्रपति कार्यालयमा नेपालकै सबैभन्दा महँगो पानी हिमालयाज अनटप पानी प्रयोग गर्न थालिएको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ । राष्ट्रपतिको निर्देशन पछि राष्ट्रपति कार्यालयमा खाने र खाना पकाउने पानीका रूपमा नेपालकै सबैभन्दा महँगो पानी प्रयोग हुन थालेको हो ।

हिमालयाज अनटप नेपालबाट विदेशमा समेत निर्यात हुने पानी हो । व्यवसायी अजेयराज सुमार्गीको कम्पनी हिमालयन स्प्रिङले उत्पादन गर्ने यो पानी ९ सय मिलिलिटर बराबरको बोत्तलको न्यूनतम बजार मूल्य ८० रुपैयाँ पर्छ । त्यस्तै यसको ३ सय ५० मिलिलिटर र ५०० मिलिलिटरको बोतल पनि बजारमा उपलब्ध छ । यो पानी जारमा भने उपलब्ध नभएको कम्पनीले बताएको छ । देशको आधिकारिक वैज्ञानिक संस्थाले बजारमा खानयोग्य पानी नभएको बताएपछि गुणस्तर सुधार र नियमनमा सरकार लाग्नु त कता हो कता राष्ट्रप्रमुखलाई आफ्नैमात्र चिन्ताले सताएको देखिएको छ । उपत्यका बासी जनता दिनहुँ कोलिर्फम र इकोलोजी युक्त पानी पिई रहँदा राष्ट्रपति भने अफर मात्रै सुरक्षित हुन खोजेकी छिन् । के जनताले जहिले नि यस्तै पानी पिई रहने ? यसलाई सुधार गर्नु पर्दैन ?

पानीको गुणस्तर नियमन गर्ने र सबै सर्वसाधारणलाई स्वच्छ खाने पानीको पहुँच उपलब्ध गराउनुको साटो राज्यकोषबाट दैनिक लाखौँको महँगो पानी खाएर गणतन्त्र नेपालको राष्ट्रपति कार्यालयले जनताको स्वच्छ खाने पानी पिउने अधिकारको खिल्ली उडाएको छ । सयौंजना कर्मचारी रहेको राष्ट्रपति कार्यालयले ९ सय मिलिलिटरकै ८० रुपैयाँ पर्ने पानी प्रयोग गर्दा दैनिक हजारौँ लिटरको लाखौँ रुपैयाँ पैसा खर्च भइरहेको छ । तर, सर्वसाधारणले प्रयोग गर्ने करोडौँ लिटर पानी अस्वस्थकर भएको भने कम्युनिस्ट नेता र जनवादी राजनीति गरेका भनेकाहरुलाई मतलबै छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.