राष्ट्रपति आउनुअघि बसन्तपुरबाट २४८ थान कालो टिसर्ट बरामद, पूर्वडीआईजीसहित दर्जनौं पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 13 | 04:39 pm 2015

काठमाडौँ, भदाै २७ :राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्रा अवलोकनमा सहभागी हुने कार्यक्रम बिथोल्ने र विरोध गर्ने योजना बनाएको भन्दै प्रहरीले पूर्वडीआईजी सहित दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।

पक्राउ पर्नेमा प्रहरीका पूर्व डीआईजी विजयराज भट्ट, पूर्वमेजर केशव बस्नेतलगायत नेपाली सेना र नेपाल प्रहरीका पूर्वअधिकारी पनि रहेको बताइएको छ।  उनीहरूलाई नेपाल प्रहरीको पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ।

पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले उच्छ्रृंखल गतिविधिमा संलग्न ५० जना भन्दा बढी पक्राउ गरिएको पुष्टि गरे ।

राष्ट्रपति भण्डारी आज साँझ इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर जाने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीको कार्यक्रमलाई लक्षित गरेर वसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस्तै राष्ट्रपति भवनदेखि वसन्तपुरसम्मको सडकमा पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.