राप्रपाको प्रशिक्षण आजबाट हेटौंडामा शुरु

रिपोर्ट नेपाल | 2019 Sep 09 | 06:15 pm 2591

मकवानपुर, भदौ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई आजबाट हेटौंडामा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । “प्रशिक्षक प्रशिक्षण” नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हालको सरकार तथा प्रतिपक्ष दुवै आफ्नो भूमिकामा असफल भइसकेको बताएका छन् ।

अध्यक्ष थापाले देशका शीर्षस्थ नेता, ठूला व्यापारी र उच्च पदस्थ कर्मचारीको त्रिकोणात्मक मिलेमतोमा देशमा भ्रष्ट्राचार बढिरहेको मात्र नभएर न्यायालयलाई समेत दूषित बनाएको आरोप लगाए ।

सम्बोधनमा अध्यक्ष थापाले एनसेल, नेपाल वायु सेवा निगम, बालुवाटार प्रकरण लगायतको विषयमा सरकारले गम्भीर त्रुटि गर्दै चुकेको धारणा व्यक्त गरे । केही कमजोरीका कारण चुनावमा पार्टी पराजित भए पनि पछिल्लो समय आफ्ना सिद्धान्त र भावी कार्यदिशालाई जनताले मनपराएको उनले दाबी गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो हालको विधान संशोधन गर्दै सक्रिय कार्यकर्ताबाट प्रत्यक्ष निर्वाचित मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरेको जानकारी दिए ।

पार्टीले निर्धारित समय भन्दा करिब ९ महिना अघि नै पार्टी महाधिवेशन गर्ने लक्ष्य लिएको मकवानपुर अध्यक्ष मधु अधिकारीले बताएका छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दीपक सिंह, गणेश थापा, सहमहाकन्त्री राजाराम बर्तौला, भक्ति सिटौला लगायतको सहभागिता रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.