राणालाई सोधपुछका लागि बोलाइयो

रिपोर्ट नेपाल | 2022 Aug 25 | 07:26 am 1589

काठमाडौं, भदाै ९ः महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सोधपुछका लागि आगामी १५ भदौमा बोलाएको छ । समितिको बुधबार बसेको बैठकले सो दिन ११ बजे बोलाउने निर्णय गरेको समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । ‘महाभियोग प्रस्तावमा लागेका आरोपबारे सोधपुछका लागि उहाँलाई १५ गते ११ बजे बोलाउने निर्णय भयो,’ उनले भने ।

समिति बैठकले कार्यविधि पनि पारित गर्दै आरोपकाे प्रमाण संकलनका निम्ति कार्यतालिका बनाएको छ । समितिले तीन महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

प्रतिनिधिसभाले गत १५ साउनमा राणाविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो । सत्तारूढ दलले २१ आरोपसहित राणाविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

सत्तारूढ दलका ९५ सांसदले जबराविरुद्ध १ फागुन २०७८ मा संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि २२ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति बनाएको थियो । समिति बने पनि यो विषय अघि बढाउने सभामुख अग्नि सापकोटाले कुनै चासो देखाएका थिएनन् ।

सरकारले आमनिर्वाचन घोषणा गरेपछि प्रतिनिधिसभामा छलफल सुरु हुनुले ‘अहिलेकै प्रतिनिधिसभाबाट महाअभियोग प्रस्ताव पारित हुन्छ या हुन्न ?’ भने विषयमा अन्योलमै छ ।

महाभियोग प्रस्ताव पारित भएमा निलम्बित प्रधानन्यायाधीश जबराले ‘पदमा रहँदा कुनै कसुर गरेको भए त्यस्तो कसूरमा कारबाही गर्ने’ बाटो खुल्नेछ । साथै, जबरा ‘सरकारी सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुनबाट वञ्चित हुनेछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.