राज्य अपराधमैत्री हुन नसक्ने गृहको प्रष्टोक्ति

| 2018 Aug 24 | 07:37 am 1312

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहेका छन् । सो समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

यसैबीच गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बालिका निर्मला पन्तको मृत्युको विषयलाई लिएर कञ्चनपुरमा भइरहेको विरोध प्रदर्शनलगायतका घटनाहरुको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा साउन १० गते साँझ निज बालिका घर परिवारको सम्पर्कमा नआएको प्रहरीलाई जानकारी हुनासाथ खोजतलास गर्ने क्रममा साउन ११ गते बिहान बालिकाको शव फेला परेको उल्लेख गर्दै घटनाको गम्भीरतालाई दृष्टिगत गरी घटना घटेको मितिदेखि नै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षक नेतृत्वको विशेष अनुसन्धान टोली अनुसन्धान कार्यलाई तीव्रता दिन खटाइएको उल्लेख छ ।

अनुसन्धान टोलीले तत्काल देखिएको प्रमाणका आधारमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई भदौ ५ गते पक्राउ गरी थप अनुसन्धानसमेत भइरहेको प्रष्ट्याएको छ । उक्त घटनाको अनुसन्धानमा नेपाल प्रहरीका अतिरिक्त अन्य सुरक्षा निकाय तथा विशेष दक्ष जनशक्तिसमेत परिचालित भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृहको विज्ञप्तिमा भनिएको छ, ‘राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन । स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जीउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य वनाइ राख्न कानून प्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ ।’

बालिका मृत्युको निन्दनीय घटनाप्रति पुनः दुःख व्यक्त गर्दै यस प्रकारका जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाही हुने र अनुसन्धान कार्यमा संलग्न पदाधिकारीबाट समेत यदि कुनै कमीकमजोरी गरे गराएको पाइएमा कानूनअनुसार कडा कारवाही गरिने विषयमा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ ।

समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढङ्गबाट हुने नै हुँदा शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सम्बद्ध सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.