काठमाडाैं, पुस २७ः राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा सबा अर्ब रूपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले एक अर्ब ३४ करोड ९५ लाख बिगो असुल गरी जरिवाना र कैद सजाय माग गर्दै पाटन उच्च अदालतमा दुईवटा मुद्दा दायर गरेको छ।
न्यू सपयत्री इन्टरप्राइजेजका सञ्चालकले आर्थिक अवस्था कमजोर भएका मजदुर लगायतको नाममा कम्पनी दर्ता गरी नक्कली बिजक बिक्री गर्दैै आएको भेटिएको छ। न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक विवेक मगर, मनिषकुमार सहित २८ जनाविरुद्ध एक अर्ब २२ करोड २० लाख १९ हजार रूपैयाँको बिगो दाबी गरिएको छ।
आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्म मूल्य अभिवृद्धिकर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरेको विभागले जनाएको छ। मूल्य अभिवृद्धि करतर्फ ३७ करोड ३६ लाख ६३ हजार, आयकरतर्फ ८४ करोड २९ लाख आठ हजार, लाभांश करतर्फ ५४ लाख ४७ हजार रूपैयाँ राजस्व चुहावट गरेको विभागको ठहर छ।
त्यसैगरी, जेनेरल सप्लायर्स प्रालिका सञ्चालक सुवोध शाहबाट १२ करोड ७५ लाख ५१ हजार हजार रूपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी गरी मुद्दा दायर गरेको छ। साहारा एन्ड खातुन ट्रेडर्सले मूल्य अभिवृद्धिकरतर्फ चार करोड ५१ लाख २७ हजार, आयकर सात करोड १८ लाख ६६ लाख र लाभांश करतर्फ एक करोड पाँच लाख राजस्व चुहावट गरेको विभागले जनाएको छ। नागरिक दैनिकबाट