राजमार्गमा पहिरोको पिरलो

रिपोर्ट नेपाल | 2021 Jul 21 | 07:51 am 3077

काठमाडाैं, साउन ६ः हाम्रा राष्ट्रिय राजमार्गहरू बर्सेनि बाढीपहिरोका कारण अवरुद्ध हुने गरेका छन्।  संघीय राजधानी काठमाडौं छिर्ने पृथ्वी राजपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्गलगायत मुख्य राजमार्गमा वर्षायाममा छिनछिनमै पहिरो जाने गरेको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, त्रिभुवन राजपथको मुग्लिन–नारायणघाट खण्ड, अरनिको राजमार्गको बाह्रबिसेउताको क्षेत्र नभत्किएको वर्ष नै हुँदैन। पूर्व–पश्चिम राजमार्गको दाउन्ने, कोसी राजमार्गको भेंडेटार–धनकुटा, मेची राजमार्गको माई खोला क्षेत्रमा पहिरो गइरहन्छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा हाम्रो देशको भूबनोटका कारण ठाउँ–ठाउँमा पहिरो गएर प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेको बताउँछन्। ‘हाम्रो देशको भूबनोट नै कमजोर छ। फेरि यो नयाँ समस्या पनि होइन’, सहसचिव शर्मा भन्छन्, ‘त्यसैले वर्षायाममा सधैं ठाउँ–ठाउँमा राजमार्ग अवरोध भइरहेका छन्।’

शर्माका अनुसार अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेउताको भूबनोट कमजोर छ। माथिबाट पहिरो झर्छ, तल भोटेकोसी नदी छ। धनकुटाको मूलघाट, इलामको माई खोला,  पूर्व–पश्चिम राजमार्गको दाउन्नेबाट सिद्धबाबाको भूधरातल अत्यन्त कमजोर रहेको उनको भनाइ  छ। ‘हाम्रा राजमार्गमा यस्ता भूबनोट कमजोर रहेका क्षेत्र धेरै छन्, जसले वर्षात्मा हामीलाई सधैं दुःख दिने गरेको छ’, उनी भन्छन्।

सडक विभागका अनुसार यो वर्ष राष्ट्रिय राजमार्गका १ सय ३२ स्थान बाढीपहिरोका कारण अवरुद्ध भइसकेका छन्। १३ स्थानमा अझै राजमार्ग अवरुद्ध छन्। ७३ स्थानमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएका छन्। ४६ स्थानमा भने दुवैतर्फी खुला भएको छ। यो वर्ष मात्रै राजमार्गमा १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक इ. शिवप्रसाद नेपाल क्षतिको विवरण आइरहेका कारण अझै बढ्ने बताउँछन्। ‘राजमार्गमा मात्रै अहिलेसम्म १ अर्बभन्दा बढीको क्षति भइसकेको छ’, प्रवक्ता नेपाल भन्छन्, ‘त्यसको अझै पूर्ण विवरण आएको छैन। मनसुन अझै बाँकी रहेकाले क्षति थपिन सक्छ।’

विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक तिमाङ छहरामा जेठ १६ देखि नै अवरुद्ध छ। अरनिको राजमार्गको काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर– कोदारीअन्तर्गत लिपिङ पुलमा पहिरोले सडक भत्किएको छ। डुम्रे–बेंसीसहर–चामे सडकको तिमाङ खोला, धारापानी, बगरछाप, राम बजार, अर्खले, च्याम्चे, रुंगा, तनहुँको भन्सारमा एक महिनाभन्दा बढी समयदेखि सडक सञ्चालनमा आउन सकेको छैन। ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला, गाँजाबारीमा सडक भत्किएकाले यातायात चल्न सकेको छैन। जमुनाहा–नेपालगन्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) दैलेखको बोट खोला र खिड्कीज्युला सडक भत्किएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.