मकवानपुर, माघ १४ः सत्तामा रहेको नेकपाको आन्तरिक विवाद छताछुल्ल भएका बेला स्पष्टरूपमा विभाजित स्थानीय निकायका जनप्रतिनिधिले किसानका लागि ५ रुपियाँ तिरिदिने चासो नदिँदा मकवानपुरका लाखौं पशु सम्भावित कडा रोगको जोखिममा छन् । मकवानपुरका १० मध्ये ८ स्थानीय तहमा नेकपाका जनप्रतिनिधि निर्वाचित छन् ।
पशु प्राविधिकलाई ५ रुपियाँ पारिश्रमिक दिएर लगाउन पाइने भ्याक्सिनले लाखौं पशुधन संरक्षण हुन सक्छ । तर, त्यही ५ रुपियाँ स्थानीय सरकारले तिर्न चासो नदेखाएका कारण हजारौं किसान लाखौंको घाटा बेहोर्न बाध्य छन् । बाख्रामा लगाउन बजेट अभाव हुँदा हेटौंडास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पीपीआर रोगविरुद्धका लगभग ७० हजार भ्याक्सिन थन्किएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसी बताउछन् ।
अघिल्लो वर्ष आएको भ्याक्सिन केही पालिकाले मात्र लगेको भन्दै उहाँले पशुलाई लगाउने भ्याक्सिनतर्फ स्थानीय सरकार गम्भीर नबनेको दाबी गर्नुभयो । अघिल्लो वर्ष बजेट अभावका कारण पीपीआर भ्याक्सिन लगाउन नपाएका किसानका लागि यस वर्ष प्रदेश सरकारको लगानीमा भ्याक्सिन लगाइने उनले जानकारी दिए ।
‘एउटा भ्याक्सिन लगाउँदा प्राविधिकलाई ५ रुपिया“का दरले पारिश्रमिक दिनुपर्ने हुन्छ । ७० हजार भ्याक्सिन लगाउन ३ लाख ५० हजार चाहिन्छ । हामीसँग उक्त शीर्षकमा बजेट छैन । त्यसैले भ्याक्सिन थन्किएको हो’, वरिष्ठ पशु विकास अधिकृत केसीले भन्नुभयो– ‘स्थानीय तहले आफ्नै प्राविधिक खटाएर भ्याक्सिन लगाउन सक्छन् । भ्याक्सिन लैजान सबै स्थानीय तहमा पत्राचार गर्याैं । तर, सबै पालिकाबाट माग भएन ।’
पीपीआर भाइरसका कारणले बाख्रामा लाग्ने रोग निवारण गर्न पीपीआरविरुद्ध भ्याक्सिन दिने गरिन्छ । रोग लागेपछि निको नहुने भएका कारण रोग लाग्न नदिने एकमात्र उपाय पीपीआरविरुद्ध भ्याक्सिन दिनुपर्ने हुन्छ ।गत आर्थिक वर्षको अन्त्यमा पशु सेवा विभागबाट हेटौंडामा प्राप्त पीपीआर भ्याक्सिन लगाउने पशु प्राविधिकलाई दिनुपर्ने पारिश्रमिक नहुँदा पशु सेवा विज्ञ केन्द्रमा भ्याक्सिन ‘स्टोर’ गरेर राखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट