रविन्द्रका पितालाई भेटेर प्रधानमन्त्रीले भने – ‘म सम्हालिदैंछु, तपाईं पनि सम्हालिनुस्’

रिपोर्ट नेपाल | 2019 Feb 28 | 07:54 am 2360

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीका पिता इन्द्रप्रसादसहित परिवारलाई भेटेर गहिरो समवेदना व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद् बैठकलगत्तै मन्त्री रबिन्द्रका परिवारलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका प्रधानमन्त्री ओलीले अकल्पनीय दुःखद् घडीमा सम्हालिन आग्रह गरे ।
‘अकल्पनीय दुर्घटनाको खबर थाह पाउने बितिक्कै असैह्य पीडाले सम्हालिन मलाई धेरै गाहे भएको थियो’, रबिन्द्रका वृद्ध पिता इन्द्रप्रसादसहित परिवारलाई प्रधानमन्त्रीले व्यक्त गरेको समवेदना उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने,‘म बिस्तारै सम्हालिदैंछु, तपाईंहरु पनि सम्हालिनुस्, तपाईंहरुको साथमा देश, सरकार छ ।’

दुर्घटनाको खबरलगत्तै रबिन्द्रका पिता इन्द्रप्रसाद र माता लक्ष्मीदेवी पोखराबाट हेलिकप्टरमा काठमाडौं आएका थिए । काठमाडौंमै रहेकी श्रीमती विद्या भट्टराई त्रिविविमा प्राध्यपनरत छिन् ।

केहीबेर परिवारको साथमा रहेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको, उच्चस्तरीय जाँचबुँझ आयोग गठन गरेकोलगायतका निर्णय सुनाएर गहिरो समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु समवेदना व्यक्त गर्न पुल्चोक पुगेका थिए । प्रधानमन्त्री ओलीले केहीबेरमै मृतकका सबै परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.