रत्‍नपार्क आसपासमा नगरप्रहरीको गुण्डागर्दी

| 2019 Jan 26 | 04:30 pm 2246

काठमाडौं, माघ १२: फूटपाथ पसललाई व्यवस्थित गर्न नसक्दा काठमाडौं महानगरपालिका कार्यालयले राखेको नगर प्रहरी बौतारिएको साँढे जस्तै गर्ने गरेका छन् ।

शनिबार नगरप्रहरीका असई एचवी खत्रीको कमाण्डमा आएको फूटपाथे पसललाई कारबाही गर्न नगरप्रहरीको टोलीले गरेको व्यवहार आपत्तीजनक रहेको थियो ।

नगर प्रहरीका असई खत्रीको व्यवहार र शैली हेर्दा उनी कारबाहीका लागि नभएर गरिब दुःखीको सम्पत्तीको विनास गर्नका लागि खटाइएका बर्दीधारी गुण्डा जस्ता देखिन्थे ।

रिपोर्ट नेपालले रत्नपार्कमा असई खत्रीको कारबाही गर्ने शैली देखपछि उनलाई पछ्याउँदै बसपार्कसम्म पुगेको थियो । बसपार्क भित्र छिर्ने बित्तिकै असई खत्रीको रवैया गुण्डागर्दी किसिमको देखिएको थियो ।

उनले फूटपाथ पसलेलाई कानुनी कारबाही नगरेर उनीहरुको सामान भूइभरी फालिदिएका थिए । एउटा सानो बच्चा काखमा राखेर व्यवसाय गर्न बसेकी एक महिलाले असई खत्रीसँग सामान नफालिदिन अनुनय विनय गर्दा पनि मासु पसल गर्ने पसलेका अगाडि पशुले आफ्नो हत्या नगर्न गरेको आग्रह सरह देखियो ।

लात्ताले सुन्तलाको क्यारेट फालिदिँदै अगाडि बढेका असई खत्रीले एक साइकलवालाको फलफूल भूइमा फालिदिएका थिए । भारतीय नागरिक जस्ता देखिने ती फलफूल व्यपारिलाई खत्रीले तथानाम गाली गर्नुका साथै अभद्र व्यवहार गरेका थिए ।

महानगरद्वारा राखिएको यी प्रहरी नामका बर्दीधारीहरुले कारबाही पनि आफूखुसी गर्ने गरेका छन् । आफूलाई घर जाँदा कोसेली र नगद टक्राउनेलाई गर्ने व्यवहार भने छुट्टै किसिमको छ ।

वीर अस्पताल र ट्रमा सेन्टरको बीच बाटोमा दुबै तर्फ चिया पकाउने पसलेहरुले अस्पतालले लेखेको धुम्रपान निषेध भन्ने कुरालाई वेवास्ता गर्दै खैनी, गुट्खा, चुरोट खुलेयाम बिक्री गर्दा पनि नगरप्रहरीको आँखा पर्दैन ।

कतिपय ठाउँमा कारबाहीका नाममा सामान उठाउँदा सम्बन्धीत निकायमा पुग्दा कुखुरा स्यालले भन्दा छिटो गायब गराउने गुनासो पनि सुनिन्छ । फलफूल तरकारी त नगरप्रहरीको घरमा प्रर्याप्त हुने बताइन्छ ।

फूटपाथे पसलेका कारण पैदल यात्रुलाई कठिनाइ भएको सत्य हो तर गुण्डागर्दी शैलीले सामान फालिदिने कुन कानुनमा छ महानगरसँग सर्वसाधारणले प्रश्न गरेका छन् । शनिबार असई खत्रीको गुण्डागर्दी शैलीको सर्वसाधारणले प्रतिकार गर्न थालेपछि फलफूल उठाउन भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.