काठमाडौं, असोज १०: अभिनेत्री प्रियंका कार्कीले अभिनेता प्रमोद अग्रहरीसँग चलचित्र ‘कथा काठमाडौं’मा निर्वाह गरेको यौनजन्य भिडियोबारे यतिबेला अभिनेत्री प्रियंकाले मुख खोलेकी छन्।
कथा काठमाडौंको रातका कुरा…गीतमा अभिनेत्री प्रियंका र अभिनेता प्रमोदको करिब एक मिनेटको यौनजन्य दृश्यलाई विभिन्न अश्लील च्यानलमा राखेर प्रदर्शन गरियो । त्यतिबेला यस विषयमा कुनै प्रतिक्रिया नदिएकी अभिनेत्रीले आइतबार भनिन्, ‘ कथा काठमाडौंमा नारी यौनहिंसासम्बन्धी दृश्यलाई गलत रूपमा मिडियाले प्रयोग गर्न थालेपछि सो विषयमा मैले केही पनि नबोलेकी हुँ । अब चलचित्र चल्न चार दिन बाँकी भएकाले जति विवादमा आए पनि आओस् भनेर यस विषयमा हामीले स्पष्ट पारेका हौं ।’
नारीमाथि यौनहिंसा योजना बिना कुनै पनि स्थानमा कुनै पनि समय पुरुषबाट हुने यी अभिनेत्रीले बताइन् । नारीहरुले पुरुषबाट हुने सानासाना हिंसालाई बेवस्ता गर्दै जाँदा अन्त्यमा उनीहरु यौनहिंसामा उत्रने गरेको प्रियंकाको भनाइ छ । कसरी नारीमाथि यौनहिंसा हुन्छ र त्यसको प्रतिकार कसरी गर्नुपर्छ भन्ने बारे दर्शकलाई महसुस गराउन पनि आफूले यौन शोषण भएको भूमिका निभाएको प्रियंकाले बताइन्, ‘त्यहाँ प्रियंका कार्कीले नभएर एउटा यौनहिंसापीडित पात्रले यौनहिंसा खेप्नुपरेको दृश्य दिएकी हो । तर यसको यातना मैले भन्दा पनि मेरो बुबा आमाले बढी खेप्नुप¥यो ।’
यी अभिनेत्री आफूलाई व्यस्त देखाउँदै यो चलचित्रको विगतका पत्रकार भेटघाटमा अनुपस्थित रहेकी थिइन् । प्रियंकाले निर्देशककै सल्लाहअनुसार त्यतिबेला आफू सञ्चारमाध्यमका सामु नआएको र यस विषयमा नबोलेको बताइन् । यो चलचित्र यही १२ असोजबाट रिलिज हुँदै छ । तर तीन साताअघिको पत्रकार सम्मेलनमा निर्देशक संगीता श्रेष्ठले आफूहरुलाई प्रियंकाले गीत तथा ट्रेलर रिलिज कार्यक्रममा समय नदिएको गुनासो गरेकी थिइन् ।
यौनहिंसा गरिएको फिल्म कथा काठमाडौंको भिडियोलाई अत्यधिक दुरुपयोग गरियो । यही दुरुपयोगका कारण चलचित्र विकास बोर्डले कथा काठमाडौंको विभिन्न दृश्यलाई युट्युबबाट तत्काल हटाउन आदेशसमेत दिएको थियो ।
‘तर हाम्रो चलचित्र कथा काठमाडौं हेरेपछि सेन्सर बोर्डले बालबालिकाले समेत परिवारका सदस्यको साथमा यो चलचित्र हेर्न सक्नेछन् भन्दै पीजी सर्टिफिकेट दिएको छ,’ प्रियंकाले भनिन्, ‘साँच्चै दर्शकलाई परिवारसँग बसेर यो चलचित्र हेर्न गाह्रो पर्ने दृश्य भएको भए त सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिन्थ्यो नि ।’
चलचित्र कथा काठमाडौंको यौनजन्य गीत र ट्रेलर रिलिज भएको केही दिनमै अभिनेत्री प्रियंका कार्कीको टिकोटालो भयो । कथा काठमाडौंको यौनजन्य दृश्यले आफूहरुको निजी जीवनमा कुनै असर नपरेको पनि यी अभिनेत्रीले स्पष्ट पारेकी छन्, ‘कथा काठमाडौंमा मेरो यौनजन्य हिंसात्मक दृश्य आयो भनेर मलाई परिवारबाट कुनै पनि टिका टिप्पणी गरिएन । सबैले चलचित्रको चरित्र राम्ररी निर्वाह गरेको भन्दै मेरो कामको प्रशंसा गर्नुभयो,’ अभिनेत्री प्रियंकाले भनिन् ।