भक्तपुर, साउन २१: साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उनकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो ।
विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उहाँकै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।
विमोचनपछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गरे।
कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये नगद रु १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गरे । कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मानस्वरुप उहाँकै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उहाँको उपचारको लागि उचित व्यवस्था गरिदिन आग्रह गरे।
गायक लामिछानेले उचित स्वास्थ्योपचार पाएमा स्वास्थ्यमा सुधार आउने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सैँ घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए।