यो इतिहासकै राष्ट्रघाती सरकार हो : सिपी गजुरेल

| 2018 Dec 13 | 09:51 am 2384

चन्द्रप्रकाश गजुरेल नेकपा (क्रन्तिकारी माओवादी) का नेता हुन्। लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सकृय सीपी गजुरेल दश वर्षे जनयुद्धमा समेत चर्चाको शिखरमा थिए। तत्कालिन प्रचण्ड नेतृत्वको माओवादी शान्ति प्रकृयामा प्रवेश गरेपछि प्रचण्डसँग फरक मत राख्दै छुट्टै पार्टी गठन गरेका थिए । नेपाली कम्युनिस्ठ आन्दोलनका अग्रज नेता मोहन वैधको अध्यक्षतामा गठित क्रान्तिकारी माओवादीका नेता गजुरेलसँग रिपोर्ट नेपालका लागि गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

वर्तमान सरकार गठन भएको झण्डै वर्ष दिन पुग्‍न लाग्‍यो, सरकारको काम कारबाहीबारे भन्‍नुपर्दा तपाई के भन्‍नुहुन्छ ?

सरकारको गठन कम्युनिस्टको नामबाट भएको भए पनि यो सरकार गएको दिनको मुल्याकंन गर्नुपर्दा स्याबास भन्‍ने कुनै ठाउँ छैन । कम्युनिस्टको खोल आढेर सरकारमा बसेका र उनीहरुका वरीपरीका मान्छे कमाउनिस्ट बनेका छन् । सरकारका विषयमा मैले भन्दा सत्ता पक्षकै नेताहरुबाट आलोचना र वितृष्णाका स्वर आएको हुँदा हामीले ज्यादा टिका टिप्पणी गर्नुपर्ला जस्तो मलाई लाग्दैन।

प्रधानमन्त्री ओलीले त सरकारको काम र गतिशिल हेर्न बाटो र विकास गरेर देखाउने चुनौती दिएका छन् त ?

प्रधानमन्त्री केपी ओलीका विषयमा ज्यादा टिप्पणी नगरौं । केपी बिरामी छन् कति बेला के बोल्छन् थाहा हुँदैन । सडक तपाईले पनि हेर्नु भएकै होला । सडक भत्काएर जुन रफ्तारमा काम हुनुपर्ने हो थियो त्यो नभएपछि जनताको बिरोधका कारण बल्ल बन्न थालेका छन् । उहाँको विकास केही दिन अगाडी देख्‍न पाइयो त्यो भने सत्य हो । उहाँले गरेको विकास हेर्दिन भन्दा पनि हेर्न बाध्य भइयो । त्यो केहो भने करोडौं खर्च गरेर राष्ट्रिय दैनीक र पोलपोलमा मुस्कुराएको फोटो टाँसिएको विकास।

सरकारले अघि सारेको सामाजिक सुरक्षा कार्यक्रम त राम्रै छ नि होइन र ?

नयाँ युगको नाममा तामझामसहित फोटो प्रदर्शनी र मञ्‍चमा घोचपेच गर्ने काम बाहेक यो सरकारले केही गर्न सकेको छैन। सामाजिक सुरक्षा कार्यक्रमको आरम्भ गर्ने दिनको नाटक तपाईले पनि त देख्नु भयो नि । यो सबै नक्कली जोगीले बढी खरानी घस्छन् भने जस्तै हो ।

राष्ट्रियताको लागि जस्तो सुकै त्याग तपस्या गर्नपछि नपर्ने भनेर प्रधानमन्त्री ओली भन्छन् तपाईलाई त्यो भनाई कति जायज लाग्छ ?

भन्दा केपी ओली आफूलाई एकमात्र सच्चा राष्ट्रवादी भन्न रुचाउनु हुन्छ। सारमा भन्नुपर्दा इतिहासमा यो सरकार जस्तो राष्ट्रघाती कुनै सरकार देखिएको थिएन। यो सरकारले बितेका यो साढे नौ महिनामा राष्ट्रिय स्वधीनताको धज्जी उडाएको छ। भन्दा वामपन्थीको नेतृत्वमा बनेको दुई तिहाइको सरकार भनिन्छ तर यथार्थमा भन्नुपर्दा यो प्रतिकृयावादी र आत्मसमर्पणवादीको सरकार हो।

सरकाले राष्ट्रिय स्वधीनता माथी धावा कहाँ बोलेका छ तपाई भन्न सक्नु हुन्छ ?

अहिले कालापानीको नक्सा गायब पारिएको छ । यदी यो सरकार राष्ट्रवादी र राष्ट्रिय स्वधीनता प्रति चिन्ता लिने सरकार हो भने यसो आवाज उठाउनु पर्दैन ? यो सरकार यति नालायक छ आफ्नो भूमिको नक्सा गायब हुँदा समेत मौन छ। ओठले बिरोध बोले पनि आत्माले मालिकको चाकडी गरिरहेको छ।

तपाईले खाली सरकारको गलत काम मात्रै भन्नुभयो, केही राम्रा काम पनि त भएको होला नि ?

नेपाली जनताले सिटामोल खान नपाएर ज्यान गुमाएका छन्। गरिब जनताले रगत पसिना बगाउँदा पनि दुई छाक खान पाएका छैनन् । यी सबै कुरालाई पैतालाले च्याप्दै राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने काम ठिक हो भनौं त ! वषौंदेखि रहेका राज्यका कार्यालयहरुलाई धपाएर राष्ट्रपतिको सुविधा थप गर्ने कुरा पनि राम्रै भनौ कि !

सरकारले औंलामा गन्ने मात्रै जनहितका काम गरेको भए पनि हामीले प्रशंसा गर्न छुच्याई गर्ने थिएनौ । केवल आफ्ना सेवा सुविधा बढाउने कामबाहेक अरु कुनै सिन्को नभाँचेको सरकारले राम्रो गर्‍यो भनेर म कसरी भनौ, तपाई आफैं भन्नुस् त !

एक अन्तरवार्तमा निर्मला काण्ड अन्तराष्ट्रियकरण हुँदैछ भन्नु भएको थियो त्यो होला र ?

जब पीडितले न्याय पाउँदैन त्यसपछि पीडाको आगो दिनप्रतिदिन दन्किदै जान्छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकार पूर्ण रुपमा असफल मात्रै भएको छैन कि अपराधीलाई बचाउन अनेक षडयन्त्रका जालो बुनिरहेको छ । कहिले मानसिक सन्तुलन विग्रेका त कहिले लागूऔषध सेवनकर्तालाई अपराध स्विकार गर्न लगाएर एउटा अपराध ढाक्न अर्को अपराध गर्न सरकार लागि परेको छ ।

तपाईको भनाई सुन्दा त सरकार हरेक मुद्धामा चुकेको जस्तो देखिन्छ त्यस्तो होइन कि ?

तपाई पत्रकारले त बुझेर पनि बझपचाउनु हुन्छ भने निरिह जनताले के गर्लान ? यो कमाउनिस्टको सरकार शिक्षामा माफियाकरण गर्ने देखि वाइडबडी विमान खरिदमा पुरै भ्रष्टाचारमा संलग्‍न छ। यो सरकारले पंचायतदेखि पुराना बहुदलवादी सरकारले गर्ने भ्रष्टाचारलाई समेत पछि पारीदिएको छ ।

तपाईहरु सरकारले गरेका गलत कृयाकलापका विरुद्ध आन्दोलन गर्ने भन्दै हुनुहुन्छ कस्तो आन्दोलन गर्ने सोचमा हुनुहुन्छ ?

हामी देशभक्त गणतान्त्रिक मोर्चा गठन गरेर केही समयदेखि सकृय छौं । अब छिट्टै एक किसिमको आन्दोलन हुन्छ । हरेक आन्दोलनको शुरुवात सानोबाटै हुन्छ । हिजो जनयुद्ध शुरुगर्दा खिसिटिउरी गर्नेहरु पनि त थिए नि होइन र ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.