युवा टिमको जमातसँगै भारतीय गाडी चढेर संसदमा दीपक मनाङे ईन्ट्री

रिपोर्ट नेपाल | 2019 Jan 29 | 04:47 pm 1678

पोखरा, माघ १५ :  सांसद राजीव गुरुङ (दीपक मनाङे) मंगलबार गण्डकी प्रदेशसभामा आउँदा सबैको ध्यान उनीतिरै खिचियो । निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका दीपक मनाङे मंगलबार भारतीय नम्बर प्लेटको गाडी चढेर प्रदेशसभा आएका थिए ।

उनी एउटा युवा टिमको जमातसँगै भारतको विहार प्रदेशको BR06PD 7529  नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। त्याे देखेर सांसदहरु नै आश्चर्यमा थिए ।

मंगलबार मनाङेले गाडी लिएर निर्वाध प्रदेशसभा भवन परिसरमा छिर्दा गेटमा रहेका सुरक्षाकर्मीले पनि सोधपुछ गरेनन्। सञ्चारकर्मीको सोधपुछको क्रममा सुरक्षार्थ खटिएका प्रहरीले भने, ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्ने ?’

मनाङेले भने आफ्नो गाडी नएको बताएका छन् । उनले  सञ्चारकर्मीसँग कुरा गर्दै भने,  ‘मेरो गाडी होईन, भाईको हो, भित्र ल्याउन पाउने नपाउने कुरा त्यो त प्रहरीले हेर्नुपर्ने हो भित्र ल्याउन पाउँछ कि नाई, उनीहरुले जान्नुपर्ने कुरा हो।’

२ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु नै भारतीय गाडी चढेर निर्वाद हिँडिरहने भन्दै उनले यो ठूलो कुरा नभएको बताए। उनले भने, ‘मैले रसिद देखाउँला, गाडी भित्र ल्याउन किन नपाईने हो, भारतले त्यत्रो एम्बुलेन्स दिईराख्छ, के त्यो ल्याउन नपाउने हो, उड्न पो नहुने गुड्न त हुन्छ नि।’

बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा एक सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।

भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले यसबारेमा आफूले अध्ययन गरिरहेको बताए । ‘यसबारे म पनि बुझ्दैछु । ठ्याक्कै थाहा भएन । मैले पनि कानुन हेर्नैपर्छ ।’

मंगलबार नै तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ पर्यटक गाडीमा आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.