नाइटक्लबमा युवतीको जागिर : ड्युटी कि डेटिङ !

आदि | 2018 Jul 14 | 12:08 pm 21824

काठमाडौं- हिलो र धुलोले आजित व्यस्त र थकित सहर राजधानी काठमाडौंमा अधिकांशको सुस्ताउने ठाउँ हो ठमेल बजार । युवापुस्ताका अल्लारे तथा विद्यार्थीदेखि विभन्न पेसाका निजि तथा सरकारी पेसामा आबद्धहरूको रोजाइमा पर्ने ठाउँ ठमेल बजार, जहाँ नाइटक्लबहरू डान्सबार, दोहोरी साँझ बग्रेल्ती छन् । त्यहाँ कोही मस्ती गर्न जान्छन् भने कोही मानो जुटाउन ।

भौतिक सुखमा रमाउने राजधानीको महँगीमा आफूलाई टिकाउन जागिर खोज्दै युवतीहरू पुग्ने भनेकै नाइटक्लब, दोहोरी साँझ, डान्सबार, रेष्टुरेन्ट तथा मसाज सेन्टर बनेका छन् आजकाल । यसो भन्नुको अर्थ सबै युवतीहरू यसैमा संलग्न छन् भन्ने होइन । हातमा सिप र योग्यता नभएका तर रूपले सुन्दर युवतीहरूलाई खोजिखोजि जागिर दिने ठाउँ हुन् यस्ता नाइटक्लब, बार, रेष्टुरेन्ट तथा मसाज केन्द्र ।

बार तथा मसाज सेन्टरहरूलाई युवती चाहिएको हुन्छ भने युवतीलाई जागिर । नाइटक्लबहरू सञ्चालकहरूको ‘बिजनेस पोलिसी’अनुसार युवतीहरूलाई ग्राहक बटुल्ने साधनको रूपमा प्रयोग गरिरहेका हुन्छन् । उनीहरूलाई अर्धनग्न रुपमा प्रस्तुत गरिँदा ग्राहक बढ्ने मनस्थितिले भरणपोषण भएका नाइटक्लब सञ्चालकहरूले युवतीलाई यौनाकर्षणका साधनको रूपमा व्यवहार गर्छन् ।

चाबहिल गणेस्थाननजिकै बस्ने सिसम (नाम परिवर्तन) ठमेलस्थित एक रक बारमा वेटरको काम गर्छिन् । उनको ड्युटीको समय बेलुका ५ बजेदेखि शुरु हुन्छ राती १२ बजेसम्म । वेटरको रुपमा काम गर्ने ‘जागिर’मा नियुक्त भएकी उनले ग्राहकदेखि मालिकको सेवामा पनि खटिनुपर्ने पीडा सुनाइन् । मलिकको दुर्व्यवहार सहन नसकेपछि दुई महिनाको तलब नलिई उनले छोडिन् र अहिले दरबारमार्गस्थित क्लब डेजाबुमा काम गर्छिन् ।

यस्तै कतिपय नाइटक्लबमा काम गर्ने युवतिहरूले ड्युटीको नाममा मालिक तथा मालिकले भनेको ग्राहकसँग ‘डेटिङ’ जानुपर्ने बाध्यताले जागिर नै छोड्नुपरेको छ । अर्कोतर्फ काठमाडौंको रसरंगमा रमाउने कैयन युवतीहरूमध्ये नाइलक्लबमा जागिर गर्ने भन्दै ठमेल तथा दरबारमार्ग क्लबहरूमा गएर ग्राहक खोज्ने र यौनसम्बन्ध राखेर पैसा असुल्ने पनि कम छैनन् ।

युवतीहरूलाई त्यस्ता ‘क्लब’ले विशेष सुविधा दिएका हुन्छन् । कुनै क्लबले त युवतीहरूलाई प्रवेश निःशुल्क समेत गरेका हुन्छन् । ‘केटीहरू भनेको डिस्कोका आकर्षण हुन्,’ लामो समयदेखि डिस्कोमा डिजेका रुपमा कार्यरत प्रभास (नाम परिवर्तन) भन्छन्, ‘जहाँ युवती हुन्छन् त्यहाँ केटाहरूको भिड लाग्छ र बिजनेस बढ्छ । त्यसैले डिस्कोहरूले केटीहरूलाई विशेष सुविधा दिन्छन् ।’

डिस्को र क्लबहरूमा इभेन्ट आयोजना गर्नेहरूले पनि ठूलो ‘क्राउड’ जम्मा पार्नका लागि युवतीलाई लगाउने गरेका छन् । ‘पोस्टरमा केटीकै तस्बिर हुन्छ, टिकट भिडाउने पनि उनीहरू नै हुन्छन्,’ एक इभेन्ट अर्गनाइजरले भने, ‘तपाईं प्रत्येक दिउँसो या राति आयोजना गरिएका पार्टी हेर्न जानुस्, त्यहाँ भोलन्टियर र टिकट काउन्टरमा युवती नै हुन्छन् । टिकट र फेसबुकमा राखिने पोस्टरमा पनि युवतीको फोटो हुन्छ । फोन गरेर केटाहरूलाई फकाउने र पार्टीमा बोलाउने पनि युवती नै हुन्छन् । यो सब इभेन्ट आयोजना गर्नेहरूको ट्रिक हो ।’

यसरी युवतीहरू ‘ड्युटी’को नाममा ‘सेटिङ’ र ‘डेटिङ’मा व्यस्त हुनुपर्छ ।

केटाहरू किन महँगो पैसा तिरेर क्लब छिर्छन् ?

केटाहरू महँगो पैसा तिरेर भएपनि क्लब छिर्न मरिहत्ते गर्छन् । आखिर किन त भन्दा सबैको उद्देश्य रमाइलो नै हो, तर रमाइलो गर्ने तरिका भिन्न छन् । ‘क्लबभित्रै सेटिङ हुन्छ,’ दरबारमार्गको आई क्लबमा निरन्तर म्युजिक शो गर्नेमध्ये एकजनाले भने, ‘यहाँ केटीहरूसँग चिनजान गर्छन् । अलिअलि खुवाउँछन्, कुरा मिलाउँछन् । नयाँ–नयाँ गर्लफ्रेन्ड बनाउन पाइन्छ र त केटाहरू डिस्को आउँछन् । नत्र एक्लै उफ्रिन त किन आउँथे र केटाहरू ?’

कतिपय अवस्थामा त क्लबभित्र पुग्दा यौनकर्मीसँग मोलमोलाई गर्दै गरेका पनि भेटिन्छन् । डान्सबारमा कार्यरत युवतीहरू १२ बजेपछि पनि क्लब छिर्ने गर्छन् । आइक्लबमै कार्यरत एक युवतिले भनिन्, ‘हामीलाई क्लबले नै राखेको हो, ग्राहकलाई बिजनेस गराए अनुसार हामीलाई कमिसन आउने गर्छ, अलिअलि तलब पनि आउँछ ।’

यसरी पछिल्लो समय ग्राहक खोज्ने भरपर्दो र सुरक्षित माध्यमका रूपमा यौनकर्मीहरूले डिस्को र क्लबहरूलाई लिने गरेका छन् ।

कति सुरक्षित ‘नाइट लाइफ’ जागिर ?

कहिलेकाहीँ हुने अप्रिय घटनाले काठमाडौंका नाइट लाइफ पारखीहरूलाई झस्काउने गरेको छ । १ मंसिरमा ग्वार्कोस्थित दोहोरी साँझबाट फर्किंदै गर्दा नाइटक्लबमा काम गर्ने २० वर्षीया एक युवतीमाथि ग्याङ रेप भयो । राति सहकर्मीसँगै मंगलबजारस्थित डेरामा फर्किरहेका बेला ती युवतीलाई तीनजनाले फिल्मी शैलीमा अपहरण गरेर बलात्कार गरे । माघको अन्तिम साता दरबारमार्गको एक नाइट क्लबमा ग्याङ फाइट भयो । प्रायः अनुशासित मानिने दरबारमार्गमा कहिलेकाहीं यस्ता घटना हुन्छन् । राजधानीको सुरक्षालाई सधैं चुनौती दिन खोज्ने गुण्डा समूहहरू त्यहाँ बेलाबेला भिड्ने गर्छन् ।

राति ८ बजेपछि सार्वजनिक यातायात पाइँदैन । ट्याक्सी सस्तो छैन । कहिलेकाहीँ ट्याक्सी चढ्नु सुरक्षाका कारणले चुनौतीपूर्ण बनेका घटना पनि पाइन्छन् । ‘आफ्नो सवारी नहुनेका लागि काठमाडौंको नाइट लाइफ जागिर दुःखको कारण मात्र हो । ट्याक्सीहरूले राति डेढी वा दोब्बर हान्छन्,’ नाइट क्लब, पव र बारहरूमा इन्टरटेनरको काम गर्ने प्रतिक श्रेष्ठ भन्छन्, ‘बाहिर हिँड्न पनि गाह्रो छ, सबैभन्दा ठूलो डर भनेकै मापसेहरूबाट हो ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापा काठमाडौंको नाइट लाइफलाई पूर्ण सुरक्षित गर्न आफूहरूले प्रयास गरिरहेको बताउँछन् । पहिलेको तुलनामा नाइट लाइफ केही सुरक्षित भएको उनको भनाई छ । उनका अनुसार झैंझगडा, ओभर ड्रिङ्ससँगै केही तेस्रोलिंगीको व्यवहार पनि नाइट लाइफमा समस्याजनक छ ।

‘उहाँहरू पनि समाजमा त्यति नै सम्मानित हो, जति अरू हुन्छन्’ उनी भन्छन्, ‘तर, उहाँहरूका केही क्रियाकलापका कारण नाइट लाइफ खल्बलिएको छ । प्रहरीले दैनिक दुई–तीन जनालाई नियन्त्रणमा लिइरहेको छ ।’

संसारमै नाइट लाइफ व्यवस्थापनमा सरकारले सुरक्षालाई उच्च प्राथमिकतामा राख्छ । प्राविधिक रूपले निकै सक्षम प्रहरीको निगरानीमा यदाकदा हुने घटनालाई नियन्त्रणमा लिइहाल्न सक्ने क्षमता त्यस्ता ठाउँमा भएको मानिन्छ । तर, नेपालमा पनि यसको अभ्यासका लागि नीतिगत तवरमै सुधार गरी अघि बढ्नुपर्ने डिएसपी थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.