युनिफिकेसन चर्चकी प्रमुखले ओली-राधिकासहित १५ सय जोडीलार्इ आशीर्वाद दिने

| 2018 Nov 30 | 08:33 am 1547

काठमाडौं, मंसिर १५ : एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ।

एसिया प्यासिफिक समिटका लागि सवारीमा जोरबिजोर प्रणाली लागू गरिएकाले गाडी नपाउँदा बिहीबार काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका यात्रुको लस्कर । तस्बिर : अंगद ढकाल/कान्तिपुर

कान्तिपुरलाई प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ। त्यसपछि उनीहरू ‘मुन परिवारको अंग बन्ने सम्भावना रहने’ आयोजकको दाबी छ।

‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्त्वपूर्ण छ,’ कार्यक्रमको महत्त्व दर्शाउन सूचीको तल लेखिएको छ। दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमिकाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दम्पतीहरूलाई आशीर्वाद दिन लागिएको हो।

आयोजक युनिभर्सल पिस फेडरेसन (यूपीएफ) नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालका अनुसार दोस्रो सत्रमा देशैभरका मेयर र उपमेयरलाई निम्ता दिइएको छ। भित्रको हलमा सबै नअट्ने भएपछि हायातबाहिरको खाली ठाउँमा ३४ सय सिट क्षमताको अस्थायी हल बनाइएको उनले बताए।

‘आजको विश्वमा पश्चिमा हावा लागेर परिवार विखण्डन भइरहेको छ,’ यूपीएफ नेपालका महासचिव विनोद डाँगीले भने, ‘त्यसलाई नेपालमा आउन नदिन र परिवारलाई जोगाइराख्न उहाँबाट आशीर्वाद दिन लागिएको हो।’

आशीर्वाद लिने ४ हजारमध्ये नेपालका उच्च पदस्थ १५ सय जोडी हुनेछन्। यसरी धार्मिक रीतले आशीर्वाद दिनुअघि प्रधानमन्त्री ओलीलाई चर्चकी गुरुआमाले ‘नेतृत्व तथा सुशासन पुरस्कार’ प्रदान गर्नेछिन्। कार्यक्रमको एक सय एक सदस्यीय आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे केही पनि नभनिएको खबर कान्‍तिपुर दैनिकमा छ।

चर्चकी गुरुआमा यूपीएफका संस्थापक धार्मिक गुरु सन म्युङ मुनकी पत्नी हुन्। मुनले सन् २०५४ मा दक्षिण कोरियामा यूपीएफ स्थापना गरेका थिए, जसले सामूहिक रूपमा विश्वभर दम्पतीहरूलाई आशीर्वाद दिँदै आएको छ। चर्चकी सदस्य हानले १७ वर्षको उमेरमा ४० वर्षका मुनसँग सन् १९६३ मा विवाह गरेकी थिइन्।

मुन दम्पतीले आफूहरूलाई धर्मावतार बताउँदै क्राइस्टले पूरा गर्न नसकेको दायित्व पृथ्वीमा पूरा गर्न आएको प्रचार गर्दै आएको छ। सन् २००४ मा मुनले आफूलाई मसिहा घोषणा गरेका थिए। सन् २०१२ मा मुनको मृत्यु भएपछि हान यूपीएफको मुख्य धार्मिक गुरु भएकी छन्।

उनले आफूलाई ईश्वरकै अवतार घोषणा गरेकी छन्। एजेन्सीहरूका अनुसार यूपीएफको मुख्य आकर्षण विवाहित समूहमा विवाह रच्नु र विवाह गरिसकेका जोडीलाई ‘पवित्र जल’ छर्की आशीर्वाद दिएर तिनलाई ‘सबै पापबाट मुक्त गर्न‘’ हो। सीएनएनका अनुसार यसरी पापमुक्त भएका जोडीबाट जन्मेका र जन्मिनेवाला सन्तान पृथ्वीमा शान्तिका अग्रदूत हुने विश्वास चर्चका सदस्यहरूको छ।

यूपीएफले बर्सेनि विभिन्न देशमा गर्दै आउने सम्मेलनमा त्यस देशका उच्च पदस्थको जोडीलाई यसैगरी आशीर्वचन दिने गरेको नेपाल शाखाका महासचिव विनोद डाँगीले बताए। यस्तो समारोहअघि यूपीएफले त्यस देशको सरकार वा राष्ट्र प्रमुखलाई सुशासन पुरस्कार दिने गर्छ।

सुकी र हुन सेन आए
सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार आएका छन्। उनीहरूलाई होटल सोल्टीमा राखिएको छ।

न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति, पालाओ आइल्यान्डका राष्ट्र प्रमुख, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा शुक्रबार आउँदै छन्।

उनीहरू सबैलाई सोल्टीमै राखेर शुक्रबार साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज दिँदै छन्। आउने–जाने समयको बचत गर्न ओली बिहीबारबाटै सोल्टीमा बसेका छन्। हुन सेन सम्मेलनपछि लुम्बिनी जाँदैछन् भने सुकीको लुम्बिनी भ्रमण टुंगो नलागेको यूपीएफले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.