यसरी खुल्दैछ रहश्य, संविधानमै छेडखानी किन गरियो ?

| 2018 Dec 07 | 09:24 am 3344


– कृष्णप्रसाद सापकोटा

अफ्रिकी नेता जोमो केन्याटाको विश्वप्रसिद्ध अभिव्यक्ति छ– ‘जब इसाई मिसनरी अफ्रिकामा आएका थिए तिनका हातमा बाइबल थियो र हामीसँग जमिन, इसाइले हामीलाई प्रार्थनाको नाममा आँखा बन्द गर्न लगाए, जब हामीले आँखा खोल्यौँ, त्यतिबेला हामीसँग बाइबल थियो भने उनीहरूसँग जमिन !’

कुनै मुलुकको अस्तित्व नामेट पार्नु छ भने सर्वप्रथम त्यहाँको मौलिक धर्म–संस्कृतिको गला निमोठेर पहिचानविहीन तुल्याइदिनुपर्छ भन्ने तथ्यलाई विशेषगरी इसाईहरूले राम्रोसँग बुझेका र संसारभर प्रयोगमा पनि ल्याएका छन् । अर्काको धर्म–संस्कृतिमाथि अतिक्रमण गरी आफ्नो प्रभाव फैलाउन ‘साधु’ बनेर अफ्रिका प्रवेश गरी त्यहाँ जात र धर्मको वितण्डा मच्चाएर तहसनहस तुल्याइसकेपछि मात्र अफ्रिकीहरूको आँखा खुल्यो । तर त्यतिबेला ज्यादै ढिलो भइसकेको थियो । सो सन्दर्भलाई लिएर केन्याली नेता जोमो केन्याटाले उपरोक्त अभिव्यक्ति दिएका थिए, जुन अभिव्यक्ति इसाई मिसनरीको नियत र कर्म बुझ्न–बुझाउन एक सशक्त माध्यम नै बन्ने गरेको छ ।

कुरा अफ्रिकाको मात्र रहेन, शुरुमा मायालु पाराले सुम्सुम्याउने, कन्याइदिने र कन्याउँदा कन्याउँदै आन्द्राभुँडी नै निकालेर शिकार गर्ने ब्वाँसो प्रवृत्तिले हाम्रो मुलुकमा पनि जरो गाडिसकेको विभिन्न घटना सन्दर्भले पुष्टि गरिसकेको छ । इसाइकरणको अदृश्य चाल चल्दै–चालिँदै आएको परिवेशमा अब खुल्लमखुल्ला ढङ्गले धर्मान्तरका गतिविधि हुन थालेका छन् । देशको विधिविधान, संविधान, नियमकानुनमाथि नै पकड जमाउँदै नेपालको पहिचानको रुपमा रहेको हिन्दु धर्म–संस्कृतिमाथि अत्यन्त दुःखदायी खेलबाड यहाँ भइरहेको छ, सबभन्दा दुःखको कुरा त यस राष्ट्रघाती कर्ममा मुलुुककै ठूला भनिएका नेताहरूको प्रत्यक्ष संलग्नता उजागर हुन थालेको छ । एसिया प्यासिफिक समिटको नाममा हालै सम्पन्न गरिएको ‘इसाई जमघट’लाई पछिल्लो ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।

कुनै मुलुकको अस्तित्व नामेट पार्नु छ भने सर्वप्रथम त्यहाँको मौलिक धर्म–संस्कृतिको गला निमोठेर पहिचानविहीन तुल्याइदिनुपर्छ भन्ने तथ्यलाई विशेषगरी इसाईहरूले राम्रोसँग बुझेका र संसारभर प्रयोगमा पनि ल्याएका छन् ।

आफूलाई नेपाल परिवार दलको अध्यक्ष भनेर चिनाउँदै आएका एक विवादास्पद व्यक्तिको अगुवाईमा विभिन्न गतिविधि गर्दै आएको ‘युनिभर्सल पिस फेडरेसन’ नामक संस्थाको आयोजना भनिए पनि नेपाल सरकारले यस समिटलाई तामझामपूर्ण तुल्याउन गरेको कसरतले विदेशी एनजीओको प्रभावमा सरकार र सत्ता सञ्चालन गर्ने दल नेपाल कम्युनिष्ट पार्टका नेताहरू कुन हदसम्म बिकेका र गिरेका रहेछन् भन्ने उदाङ्ग भएको छ । नेकपाका वरिष्ठ नेता माधव नेपाल स्वयम् समिटको होस्टकै रुपमा रहनु, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै हस्ताक्षरमा विदेशीहरूलाई निम्तो दिनु, तीन–तीन दिनसम्म सरकारी निवास नै छोडेर होटलमा गई संदिग्ध विदेशीहरूसँग रसबस गर्नु, पार्टीकै जानिफकारहरूले सचेत गराउँदा गराउँदै पनि अत्यन्त विवादित र बदनाम पात्र तथा संस्थाले प्रदान गरेको पुरस्कार र सम्मान थाप्नु, मुलुकका सुरक्षा निकायहरू लगायत अन्य संरचनाहरूको दुरुपयोग गर्नु जस्ता कार्यले यस सम्मेलनमा वर्तमान सरकार र नेकपाका कैयन नेताहरूको तार–तन्तु रहश्यमयी ढङ्गबाट जोडिएको छ भन्ने पुष्टि गरेको छ ।

नेपालमाथि गरिएको पछिल्लो नाकाबन्दीका बेला राष्ट्रिय अडान राखेको भनि प्रचारवाजी गरिएका केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री हुँदासम्म महान् राष्ट्रवादी भनि प्रचारित थिए । विपक्षी मत राख्ने जनताले समेत उनलाई विश्वाश गरेका र आश राखेका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री भएपछि जनताको यो आशमा लगातार तुषारापात भएको छ । उनका क्रियाकलाप एकपछि अर्को गर्दै राष्ट्रविरोधि देखिन थालेको छ । उनको राष्ट्रवाद स्खलित हुन थालेको छ । युपीएफले आयोजना गरेको कथित समिटमा रहेको ओली र सरकारी संलग्नताको चौतर्फी विरोध हुँदा त्यसलाई अनजानमा भएको कमजोरी भनी स्वीकार गरेर जनतासँग माफी माग्नुको साटो उल्टै बुद्धिजीवी र मिडियाकर्मीहतमाथि प्रधानमन्त्री खनिएबाट त नेपाल र नेपालीप्रतिको उनको ओठे अभिव्यक्ति सम्पूर्ण रूपले नाङ्गेझार हुन पुगेको छ ।

नेपाली सनातनी संस्कृतिप्रेमीहरूको राष्ट्रिय चाड दशैं, रक्षावन्धन, कृष्णअष्टमी आदि जस्ता पर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरी आयातित धर्मलाई प्रोत्साहन र समर्थन गरेपछि सारा नेपाली झस्किएकै थिए, इसाई सम्मेलनप्रति उनले दर्शाएको मोहले उनको विधर्मीपन छरप्रष्ट भएको छ ।

प्रधानमन्त्रीको सपथ लिनेबेला ईश्वरको नाम लिन अस्वीकार गर्ने केपी ओलीले इसाई गुरुआमासँग आशिर्वाद लिन नहिच्किचाउनु आफैमा उदेकको कुरा त हुँदै हो, उत्तिकै दुःखदायी विषय पनि हो । नेपाली सनातनी संस्कृतिप्रेमीहरूको राष्ट्रिय चाड दशैं, रक्षावन्धन, कृष्णअष्टमी आदि जस्ता पर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरी आयातित धर्मलाई प्रोत्साहन र समर्थन गरेपछि सारा नेपाली झस्किएकै थिए, इसाई सम्मेलनप्रति उनले दर्शाएको मोहले उनको विधर्मीपन छरप्रष्ट भएको छ । अब जतिसुकै शब्दजाल र उखानटुक्का हालेर भुलाउन खोजेपनि नेपाली मनबाट उनी र उनका सहकर्मीहरू गिर्न पुगेका छन् भन्नु अत्यसक्ति ठहरिने छैन ।

क्रिश्चियन मिशनरीको धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनका नाममा काठमाडौंमा देखाइएको सनातन हिन्दु, बौद्ध संस्कृतिविराधी गतिविधि र नेपाललाई इसाई राष्ट्र बनाउने अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रमुख र प्रत्यक्ष संलग्नताले नेकपाभित्र समेत यतिबेला भुइँचालो गएको छ । नेकपाभित्रका बौद्धिक नेताहरूले खुलेर ओली–माधवको यो कदमको तार्किक विरोध गरेका छन् । हतियारको धन्दा र करछली लगायतका अभियोगमा अमेरिकामा १८ वर्ष जेल सजाय पाएका, उत्तर कोरियामा पाँच वर्ष जेल बसेका, बेलायत र जापानमा प्रतिबन्धित बन्न पुगेका मुन नामक व्यक्तिको संस्थाबाट डलरमा करोडौँ पुरस्कार थाप्ने, कथित पवित्र जिससपुत्री सामु झुकेर नेपालको स्वाभीमानकै उपहास गर्ने काममा देशको वागडोर थामेका नेताहरू नै संलग्न भएपछि अब नेकपाका नेताहरूप्रतिको सम्मान बाँकी रहने त कुरै भएन । चीन र भारत जस्ता निकटका छिमेकी देशलाई चिढ्याएर ‘कुटनीतिक तवरमा ठूलो फड्को मारेको’ हास्यास्पद ढोल पिट्ने सरकारबाट समृद्धि र सुखका दिन आउने आशा पनि अब बाँकी रहेन ।

कुनैबेला संसदमा नेकपाका वरिष्ठ नेता माधव नेपालले ‘देश डुब्न लाग्यो, माझी कोही छ कि ? आइदेउ मेरो देश बचाइदेउ’ भनेर रुवावासी गरेका थिए । अब उनीमाथि प्रश्न उठ्छ, के डुब्न लागेको यो देशलाई ती विवादस्पद ‘परमेश्वरकी पुत्री’ मुनले बचाउनेछिन् ?

कुनैबेला संसदमा नेकपाका वरिष्ठ नेता माधव नेपालले ‘देश डुब्न लाग्यो, माझी कोही छ कि ? आइदेउ मेरो देश बचाइदेउ’ भनेर रुवावासी गरेका थिए । अब उनीमाथि प्रश्न उठ्छ, के डुब्न लागेको यो देशलाई ती विवादस्पद ‘परमेश्वरकी पुत्री’ मुनले बचाउनेछिन् ? भनिन्छ, यस प्रकरणमा प्रम ओलीलाई लगेर झोस्ने काम पनि माधव नेपालकै कारण भएको हो । यदि यसो हो भने हिजो माझी बोलाउँदै कोकोहोलो गरेको केका लागि ? कुन माझी आएर देशलाई बचाइदियो र अहिले ओलीसँग एसिया प्यासिफिक समिटको नाममा घाँटी जोडिँदै छ ? ओली सरकारको नालायकीविरुद्ध कम्तीमा माधव नेपाल त बोले भनी जनताले प्रशंसा गरेका थिए, अब जनताको अघिल्तिर के जवाफ छ ? आफ्नी आमाको किरिया नगर्ने तर फादरमुनको आशिर्वाद लिन मरिहत्ते गर्नुको कारण के भनी जनताले प्रश्न गरेका छन्, यसको जवाफ छ वरिष्ठ नेता माधव नेपालज्यूसँग ?

समग्रमा भन्नुपर्दा गणतन्त्र स्थापनाअघिदेखि नै खासगरी पछिल्लो डेढ दशक अवधिमा नेतृत्व तहबाट भए–गरेका कैयन निर्णय एवम् कर्मले नेपाली नेताहरूमाथि लाग्दै आएको आरोपलाई यथार्थ सिद्ध गर्दै छ । सरकारी तदारुकता र तामझामका साथ हालै सम्पन्न कथित ‘एसिया प्यासिफिक समिट’ले यस आरोपको पुष्टि गरेको छ । इसाई धर्मको पक्षपोषण तथा प्रभाव फैलाउन क्रियाशील अत्यन्त विवादित एक गैरसरकारी संस्थाको आयोजनामा ‘समिट’ सम्पन्न भएसँगै विवादित र रहस्यपूर्ण गतिविधि गर्दै आएका व्यक्तिले प्रधानमन्त्री, सरकार तथा सिङ्गै राज्य–संयन्त्रलाई ‘दुरुपयोग’ गर्ने सफलता हासिल गरेको छर्लङ्ग भएको छ । संविधानमा जबर्जस्ती धर्मनिरपेक्षता लादिनुको तात्पर्य पनि खुल्दै गएको छ । यसरी नेपाल खुल्ला तवरले अन्तर्राष्ट्रिय जगतको खेलमैदान बनेको सिद्ध हुँदै छ । देशकै स्वाभिमानमाथि निर्मम प्रहार गरिएको र अस्तित्व नै सङ्कटमा पर्ने यसखालका अवान्छित गतिविधिमा देशका शीर्षनेताहरू नै संलग्न भएको परिवेशले तमाम नेपाली जनतालाई चिन्तित तुल्याएको छ । यही चिन्तासँगै अब सचेत नेपालीले देशको पहिचान, स्वाभिमान र अस्तित्वरक्षाका लागि कटिबद्ध रहने प्रण पनि गर्नुपरेको छ । अस्तु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.