यसकारण बन्द हुँदैछ नेपाल प्रहरीको हाइटी मिसन, कंगोमा माग बढ्‍दो

रिपोर्ट नेपाल | 2018 Dec 31 | 08:13 am 1431

काठमाडौं, पुस १६ : नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ। हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ। प्रहरीले बन्दोबस्तीका सामान फिर्ताका लागि तयारीसमेत थालिसकेको छ। साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ। हाल हाइटीको एफपियू मिसनमा १ सय ४० प्रहरी खटिएका छन्।

हाइटीमा द्वन्द्व समाधानउन्मुख भएकाले राष्ट्रसंघले शान्ति सेनालाई कटौती गर्दै लगेको हो। सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ। क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ। एफपियू हाइटीमा हालसम्म तीन हजार ७० प्रहरीले काम गरिसकेका छन्। हाइटी र सुडानमा गरी नेपाल प्रहरीका दुईवटा मात्र एफपियू मिसन छन्। हाइटी बन्द भएपछि सुडान मिसन मात्र हुने भएकाले राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर प्रहरीका लागि कम हुने भएको छ। शान्ति मिसन प्रहरीका लागि आकर्षक मानिन्छ।

सामान खरिद गर्न नसक्दा गुम्यो मिसन

राष्ट्रसंघले तीन वर्षअघि नै नेपाल प्रहरीलाई नयाँ एफपियू मिसन दिने प्रस्ताव गरेको थियो। त्यसका लागि बन्दोबस्तीका सामान खरिद गर्न भनिएकोमा प्रहरीले खरिद गर्न सकेन। बरु पुरानै गाडीलगायत सामानलाई नयाँजस्तो बनाएर देखाएपछि निरीक्षणका लागि आएका राष्ट्रसंघका अधिकारीले नेपाल प्रहरीका सट्टा अन्य देशको प्रहरीलाई लिएका थिए। सुडान भ्रष्टाचार प्रकरणपछि नेपाल प्रहरीले समयमा सामान किन्न सकेको छैन। सोही कारण शान्ति मिसनको अवसर पनि गुमाउँदै गएको छ।

देशले नै राष्ट्रसंघमा लबिङ गर्न नसक्दा आफूहरूले मिसन नपाएको प्रहरी अधिकारीहरूको गुनासो छ। प्रहरी नेतृत्वबाट पनि यसका लागि पर्याप्त पहल हुन सकेको छैन। जब कि सशस्त्र प्रहरी बललाई भने राष्ट्रसंघले नयाँ एफपियू मिसन दिने तयारी गरेको छ। सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छन्। तेस्रो एफपियूका लागि सशस्त्रले सामानसमेत खरिद गरिसकेको छ। देश मात्र तोकिन बाँकी छ।

कंगो मिसनमा माग बढ्यो

इन्डिभ्युजल पुलिस अफिसर (आइपिओ)अन्तर्गत भने राष्ट्रसंघले कंगोमा नेपाल प्रहरीलाई अवसर दिएको छ। हालै दुई प्रहरी अधिकारी कंगोमा खटिएकोमा थप १२ जना माग गरेको छ। तर, कंगोमा खटिनका लागि फ्रेन्च भाषा जानेको हुनुपर्छ। कंगोमा खटिएका डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा त्यहाँको परीक्षामा सफल भएका छन्। कंगोका लागि राष्ट्रसंघबाट थप प्रहरी माग भएको र उनीहरूको परीक्षा भइरहेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए।

अनपोल मिसनमा जान युएन स्याट परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। करिब दुई वर्षअघिको स्याट परीक्षामा उत्तीर्ण भएका करिब सय प्रहरी अझै मिसनमा जान पाएका छैनन्। विगतको तुलनामा अनपोल कोटा पनि कम हुँदै गएकाले परीक्षा उत्तीर्ण गरेकाहरू पनि जान नपाउने अवस्था सिर्जना भएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.