यसकारण बढ्दै छ सम्बन्ध विच्छेद

| 2018 Jul 13 | 09:03 am 3608

सल्यान, असार २९: पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।

जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन्। चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन् । “सम्बन्धबिच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौँ तर उनीहरु सहमतिमै सम्बन्धबिच्छेद गर्न आउने भएकाले हाम्रो कुरा सुन्न चाहन्नन्”, धामीले भने ।

सम्बन्धबिच्छेद गर्न आउने ५० प्रतिशतभन्दा बढीका सन्तान हुने र तिनीहरुको भविष्य अन्योलमा हुने गरेको धामीले बताए। “सम्बन्धबिच्छेद गर्दा आमासँगको सन्तानलाई बाबुले पाल्ने भन्ने कुरा हुन्छ, पछि के हुन्छ थाहा हुँदैन यसले गर्दा बालबच्चाको लालनपालनका समेत समया आउने गर्छ”, धामीले बताए ।

परिपक्व नहुँदै प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्बन्धबिच्छेद गर्ने समस्या हुने गरेको धामीको भनाइ छ । वैदेशिक रोजगारीका कारण पनि सम्बन्धबिच्छेद हुने गरेको अदालतका स्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिनुभयो । गत आवमा सम्बन्धबिच्छेदका ९९ मुद्दा परेकामा चालु आवमा १०० वटा मुद्दा परेको गौतमले जानकारी दिए। यस्तै गत आवमा अंश दावीसहित २७ मुद्दा दर्ता भएकामा चालु आवमा ३२ मुद्दा दर्ता भएको छ । यस्तै पुरुषवादी भएको एउटा मात्र मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

चालु आवमा जबर्जस्ती करणीका १० मुद्दा तथा जबर्जस्ती करणी उद्योगअन्तर्गत आठ मुद्दा दर्ता भएको गौतमले बताए। चालु आवमा हाडनाता करणीका दुई मुद्दा दर्ता भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.