यस पटककाे दशैंमा सवारी दुर्घटनामा परी ४३ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Oct 30 | 07:43 am 2001

काठमाडौं, कात्तिक १४ः यसपाली दशैं अवधिमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो ।

दशैंको मुख्य पाँच दिनमा ३ सय ३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ जनाको मृत्यु भएको र ५ सय १९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दशैँको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको छ ।

यस बीचमा ठूला दुर्घटना पनि हुन पाएन । सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो । गत वर्ष दशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७ सय सवारी दुर्घटनामा १ सय ११ को मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २ सय ९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २ सय ७८ जना घाइते भएको जानकारी दिए ।

अघिल्लो वर्ष भने ४ सय भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३ सय १८ जना घाइते भएको महाशाखाले जनाएको छ । रजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.