यमपञ्चकको पहिलो दिन शुक्रबार बेलुकीबाट सुरु

| 2019 Oct 25 | 08:32 am 2840

काठमाडौं, कात्तिक ८: कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार शुक्रबार बेलेकीदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिए ।

यस पटक यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ ।

तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.