यतीको स्वरूपमा ठट्टा

| 2020 Feb 01 | 07:59 am 1586

काठमाडौं, माघ १८: नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् ।

भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको हिमाली भेगमा यतीको पाइला देखेको बताउँदै आएका छन् ।

अनुसन्धानकर्ताले पनि यसको स्वरूपको वर्णन गरेका छन् । सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभर रौं भएको भयंकर जीव (यती) ले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन् ।

विभिन्न विवरण, पर्वतारोहीका भनाइ र लोककथामा यतीको टाउको कोणात्मक भएको वर्णन छ, भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडे भन्छन्, शरीरमा बाक्लो रौं हुन्छ र पाइला पनि विशेष खालको हुन्छ ।

भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ । यतीलाई विश्वभर चिनाउन सरकार संवेदनशील भएको देखिँदैन, लेखक पाँडे भन्छन्, यतीको स्वरूपमा ठट्टा भएको छ ।

विवरण र फेला परेका प्रमाणका आधारमा यतीको स्वरूप सच्याइनुपर्ने उनी बताउँछन् । उनका अनुसार यतीको पाइला, सोलुखुम्बुको एक गुम्बामा रहेको खप्पर, हातको स्केलेटन, छाला आदिका आधारमा यती बनाए जनविश्वाससँग मेल खानेछ ।

नेपाल भ्रमण वर्षको सचिवालय र यती आर्ट प्रोजेक्टको संयुक्त प्रयासमा यतीको मस्कट तयार पारिएको हो । कलाकार आङछिरिङ शेर्पाले यसको डिजाइन गरेका हुन् । त्यसपछि मूर्तिकार विजय महर्जनले यतीको डमी तयार पारे । यसका लागि केशरमहलमा कार्यालय खोलिएको छ । सचिवालयले यसको जिम्मा ग्यालरी यमक्युबका कलाकारलाई दिएको थियो ।

यतीलाई चिनाउन केही महिनायता काम भएको थियो । यतीका मस्कट उपत्यकाका सार्वजनिक स्थल, सपिङ कम्प्लेक्ससहित विश्व सम्पदा क्षेत्रमा राख्न तयार गरिएको हो । विरोधपछि हनुमानढोका, पाटन दरबार क्षेत्र, बौद्धबाट भने मस्कट हटाइएको छ । अन्नपूर्ण दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.