म्याग्दीमा पहिरोको जोखिममा एघार घर

रिपोर्ट नेपाल | 2018 Aug 23 | 09:05 am 2091

म्याग्दी, भदौ ७: म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन्।

खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताए।

निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताउनुभयो । बर्खा रोकिएपछि पहिरो नियन्त्रणको काम गरिने उनको भनाइ थियो।

यसैबीच सोही वडाको जुगेपानीको पहिराले पदमार्ग बगाएपछि स्थानीयबासी पाँच मिनेटको बाटो पार गर्न ३० मिनेट घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन्। गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करीब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिड्नुपर्ने भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.