मौलाउँदै छ की, ओइलाउँदै छ नेपाली कांग्रेसको नर्सरी ?

| 2022 Feb 01 | 03:33 pm 5885

  • जीवन वुढा

नेवि संघलाई नेपाली कांग्रेसको नर्सरी यसै भनिएको होइन । संस्थापक अध्यक्ष विपिन कोइराला देखि निवर्तमान राजिव ढुंगानासम्म गरी नेवि संघका १९ जना अध्यक्ष को को हुन् ? भन्ने कुरा थाह पाउन र उनीहरु नेपाली कांग्रेसको कुन कुन भूमिकामा छन् ? भन्ने जानकारी पाउना साथ नेवि संघ के कसरी कांग्रेसको नर्सरी हो ? भन्ने कुरा स्पष्ट हुन्छ ।

नेवि संघका अध्यक्षहरु
१ विपिन कोइराला , २ शेरबहादुर देउवा, ३ विमलेन्द्र निधि , ४ ज्ञानेन्द्रवहादुर कार्की , ५ बलबहादुर केसी , ६ बालकृष्ण खाण , ७ एनपी साउद , ८ धनराज गुरुङ, ९ गोविन्द भट्टराई , १० विश्वप्रकाश शर्मा , ११ किशोरसिंह राठौर , १२ गुरु घिमिरे , १३ केशव सिंह, १४ महेन्द्र शर्मा , १५ कल्याण गुरुङ, १६ प्रदीप पौडेल , १७ रन्जित कर्ण , १८ नैनसिंह महर र १९ राजीव ढुंगाना ।

नेपाली कांग्रेसको भरखरै सम्पन्न १४औं महाधिबेशनद्धारा केन्द्रीय कार्यसमितिमा निर्वाचन हुनेमध्ये करिव ९० प्रतिशत जति नेवि संघरुपी नर्सरीमै हुर्केका हुन् । सभापति शेरबहादुर देउवा नेवि संघको दोस्रो अध्यक्ष हुनुहुन्छ । उहाँ पछिका अध्यक्ष विमलेन्द्र निधिले पनि सभापति पदमा प्रतिस्पर्धा गर्नु भएको थियो । निधि पछिका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की हाल सूचना तथा संचार प्रविधि मन्त्री हुनुहुन्छ । कार्कीले सानदार मत ल्याएर केन्द्रीय सदस्यमा चुनाव जित्नु भयो । कार्की पछि नेवि संघको अध्यक्ष बन्नुभएका बलबहादुर केसीले पनि सम्मानजनक मतका साथ केन्द्रीय सदस्य पदमा चुनाव जित्नु भयो । केसी भरखरै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बन्नु भएको छ ।

केसी पछि नेविसंघको अध्यक्ष बन्नु भएका बालकृष्ण खाँण यतिबेला गृहमन्त्री हुनुहुन्छ । विशेष कारणबस पदाधिकारीमा चुनाव लड्ने अवसर नपाउनु भएका खाँणले नेपाली कांग्रेसको १४औं माहाधिवेशन गराउन र देउवालाई पुनः सभापतिपदमा निर्वाचित गराउन ठूलो योगदान पुर्याउनु भएको छ । खाँण पछि नेवि संघको अध्यक्ष बन्नु भएका एनपी साउद २०६२ साल यता निरन्तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा हुनुहुन्छ । साउद पछि नेवि संघको अध्यक्ष बन्नु भएका धनराज गुरुङ नेपाली कांग्रेसको उपसभापति पदमा निर्वाचित हुनु भएको छ । गुरुङ पछि नेवि संघको अध्यक्ष बन्नु भएका गोविन्द भट्टराईले यस पटक पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चुनाव जित्नु भएको छ । भट्टराई पछि नेवि संघको अध्यक्ष बन्नु भएका विश्वप्रकाश शर्मा यस पटक नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित हुनु भएको छ । शर्मा पछि अध्यक्ष बन्नु भएका किशोर सिंह राठौर नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै यस पटक सहमहामन्त्री पदमा निर्वाचित हुनु भएको छ । शर्मा पछिका अध्यक्ष गुरु घिमिरे प्राविधिक कारणले मात्रै प्रदेश १ को सभापति पदमा पराजित हुनु भएको हो ।

त्यसो त नेवीसंघका पूर्वअध्यक्ष रन्जित कर्ण, पाँच वर्ष अघि सम्पन्न नेवी संघको ११औं महाधिबेशनबाट अध्यक्ष निर्वाचित हुनु भएका नैनसिंह महर मात्रै होइन बहालवाला अध्यक्ष राजिव ढुंगाना पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ ।

नेवि संघका अहिलेसम्मका अध्यक्षहरुको इतिहास हेर्ने हो भने संस्थापक अध्यक्ष विपिन कोइराला आफै ट्रयाक आउट भएका कारण पछि पर्नु भएको हो । तदर्थ समितिको अध्यक्षका रुपमा जिम्मेवारी संहाल्नु भएका केशव सिंह के कति कारणले पछि पर्नु भएको हो भन्ने कुरा उहाँकै गृहजिल्ला डडेलधुराबासीलाई थाहा होला । अर्का अध्यक्ष महेन्द्र शर्माले नेपाली कांग्रेसको आसन्न १४औं महाधिबेशनमा चुनाव जित्न नसकेपनि सानदार मत प्राप्त गर्नु भयो । २०६२ सालमा अध्यक्ष बन्नु भएका कल्याण गुरुङले नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएर नेवि संघको हैसियतलाई अझै माथि पुर्याउनु भएको छ । त्यही बेला नेवि संघको अध्यक्ष बन्नु भएका प्रदीप पौडेलले पनि नेपाली कांग्रेसको १४औं महाधिबेशनमा महामन्त्री पदमा उम्मेदवार बनेर सानदार मत प्राप्त गर्नु भयो ।

नेवि संघको अध्यक्ष मात्रै होइन उपाध्यक्ष तथा महामन्त्रीका रुपमा काम गरेका कयौं नेताहरु नेपाली कांग्रेसको राजनीतिमा स्थापित हुनु भएको छ । नेवि संघका पूर्वमहामन्त्री गगन थापा सानदार मतका साथ नेपाली कांग्रेसको महामन्त्रीपदमा निर्वाचित हुनु भएको छ । अर्कापुर्व महामन्त्री चन्द्र भण्डारी नेपाली कांग्रेसको उपसभापति निर्वाचित हुन नसके पनि सानदार मत प्राप्त गर्नु भएको छ । नेवि संघका पूर्वउपाध्यक्ष डा. मिनेन्द्र रिजाल, पूर्व महामन्त्री डा. प्रकाशशरण महत पनि नेपाली कांग्रेसमा धेरै पहिलेदेखि नै स्थापित भइसक्नु भएको छ । नेवि संघकी पूर्वमहामन्त्री प्रतिमा गौतम पनि सानदार मत ल्याएर नेपाली कांग्रेसको केन्द्रिय सदस्यपदमा निर्वाचित हुनु भएको छ । त्यसो त नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का पनि नेवि संघकै क्याडर हुनुहुन्छ । केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता कुन्दन राज काफ्ले पनि नेवि संघको पूर्वमहामन्त्री हुनुहुन्थ्यो ।

२०२७ साल बैशाख ६ गते सम्पन्न पहिलो महाधिबशेन देखि २०७३ साल भदौमा सम्पन्न ११औं महाधिबेशन सम्म नेवी संघमा १९ जना अध्यक्ष बनेको देखिन्छ । यी १९ मध्ये ३ जना त नेपाली कांग्रेसको सभापति पदमा चुनाव लडेका थिए । यी १९ मध्ये १४ जना नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिमा निर्वाचित भएका छन् । यी १४ मध्ये देउवासभापति पदमा निर्वाचत हुनु भएको छ । गुरुङ उपसभापति पदमा निर्वाचित भएका हुनु भएको छ । शर्मा महामन्त्री पदमा निर्वाचित भएका हुनु भएको छ , राठौर सहमहामन्त्री पदमा निर्वाचित हुनु भएको छ ।

नेवि संघको इतिहास मात्रै गौरवशाली छैन । अहिलेसम्म वर्तामान पनि लोभलाग्दो छ । तर अबका दिनमा नेवी संघको यस्तै गौरवशाली इतिहासले निरन्तरता पाउला ? बर्तमान पनि यत्तिकै लोभलाग्दो होला ? भन्ने प्रश्नको उत्तर चाँही बडो गाँजेमाहुने हो कि ? भन्ने संकेत देखिएको छ । नेपाली कांग्रेसको १४औं महाधिबेशन सँगै नेवि संघरुपी नर्सरी रित्तिएको त होइन ? भन्ने चिन्ता उत्पन्न भएको छ । बहालवाला अध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनु नेवि संघका लागि गौरवको विषय हो । भएका विरुवा अन्यत्र लगेर सार्ने तर नयाँ विउ नरोप्ने हो भने नर्सरीको हालत के हुन्छ ? नर्सरी रहँदैन, अर्थात भूतपूर्व नर्सरी हुन्छ । नेपाली कांग्रेसको १४औं महाधिबेशन संगै नेवि संघरुपी निर्सरी रित्तिएको छ , तर नयाँ विउ रोपिएको छैन । आजको यर्थाथता भनेको यही हो ।

थोरै पृष्ठभूमितिर जाउँ , २०७२ फागुनमा नेपाली कांग्रेसको १४औं महाधिबेशन सम्पन्न हुँदै गर्दा नेवि संघको महाधिबेशन नभएको करिव १० वर्ष वितिसकेको थियो । दुई वर्षमा हुनु पर्ने महाधिबेशन १० वर्ष वित्ना लाग्दा पनि नभएको अवस्थालाई मध्यनजर राख्दै सभापति देउवाले ६ महिना भित्रै अर्थात २०७३ भदौमा नेवि संघको ११ औं महाधिबेशन सम्पन्न गराउनु भयो । नैन सिंह महरको अध्यक्षतामा नेवि संघको नयाँ कार्यसमिति बन्यो । तर पार्टी भित्रका विभिन्न गुट तथा उपगुटका अनेकथरी दाउपेचका कारण महर नेतृत्वको कार्यसमितिले १२औं महाधिबेशन गराउन सकेन । म्याद थप्दा पनि १२औं महाधिबेशन गराउन नसके पछि २०७५ माघ २९ गते केन्द्रीय समिति विघटन भयो । तर लामो समयसम्म अर्को समिति बन्न सकेन । एकैचोटी २०७६ माघ १६ गते राजिव ढुंगानाको अध्यक्षतामा तीन जना पदाधिकारी सहितको तदर्थ समिति गठन भयो । जसमा मनोज वैद्य (काठमाडौँ) महामन्त्री, महेश्वरी कुँवर (पाल्पा) महामन्त्री थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले २०७६ साल माघ १६ गते जारी विज्ञाप्ति अनुसार यो तदर्थ समितिलाई निम्न अनुसारको जिम्मेवारी दिईको थियो ।

(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन ।

तर २०७६ माघ १६ गतेको मितिले त्यस्ता ६ महिना चार वटा कटिसके । १२ औं महाधिबेशन हुन सकेन । अध्यक्ष ढुंगाना स्वयं कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भइसक्नु भयो । पहिलो कुरा त नेविसंघको अध्यक्षका रुपमा उहाँको म्याद थपिएको छैन । दोस्रो कुरा कांग्रेसको केन्द्रीय सदस्य भइसकेकोले नेवि संघको र नेपाली कांग्रेसको विधानतः ढुंगाना अब नेवि संघको अध्यक्ष रहनु भएन । अब नेवि संघको केन्द्रीय समिति अस्त्विमा छैन । १२औं महाधिबेशनका लागि यथाशिघ्र अर्को तदर्थ समिति गठन गर्नु बाहेक अर्को विकल्प छैन ।

त्यसो त नेपाली कांग्रेसको अर्को भरपर्दो भातृ संस्था नेपाल तरुणदलको अवस्था पनि नेवि संघको भन्दा भिन्न छैन । २०७३ मंसीर १ गते पोखरामा सम्पन्न चौथो महाधिबेशनद्धारा निर्वाचित अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ । पहिलो कुरा त तीन वर्षभित्र हुनु पर्ने तरुणदलको पाँचौ महाधिबेशन ५ वर्ष वित्दा समेत अहिलेसम्म भएको छैन । यस वीचमा केन्द्रीय समितिको म्याद थपिएको पनि छैन । त्यस माथि बस्नेत कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि विधानतः तरुण दल पनि अब अस्तित्वमा छैन ।

(जीवन बुढा नेविसंघमा आबद्ध विद्यार्थी हुन्)

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.