मोदीको लुम्बिनी भ्रमण आज

रिपोर्ट नेपाल | 2022 May 16 | 07:08 am 1665

लुम्बिनी, जेठ २ः प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै छन् । उजको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको जानकारी दिए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)का अनुसार पनि सबै तयारी सकिएको छ ।

लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएका छन् । आफ्ना भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी आइपुगेका छन् । दुलहीझैँ सिङ्गारिएको लुम्बिनीको तयारी अवलोकन गर्दै उनले थप सुधारका लागि आफैँले पहल गरेका छन् । २५६६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसर पारेर भारतका प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भ्रमणलाई भव्य बनाउन सबै मन्त्रालय र निकायलाई सक्रिय तुल्याइएको बताए। प्रधानमन्त्री देउवा आफैँ आफ्ना समकक्षीको स्वागतमा जाने कार्यसूची तय भएको छ । प्रधानमन्त्री देउवा आइतबार दिउँसो लुम्बिनी आएर भ्रमण तयारीको जानकारी लिदै थप तयारीका लागि परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

उनका अनुसार दुई देशबीच केही राष्ट्रिय महत्वका विषयमा सहमति र समझदारीको तयारी भएको छ तर यी विषय दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तापछि मात्र अन्तिम टुङ्गोमा पुग्नेछ । नेपालका तर्फबाट हुनुपर्ने तयारी भने भएको छ, त्यसका लागि नेपालको सरोकारवाला मन्त्रालय र क्षेत्रका उच्चाधिकारी पनि तयारी अवस्थामा लुम्बिनी आएको जानकारी उनले दिए।

प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलगायत आएका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भारतका प्रधानमन्त्री मोदीले सोमबार करिब ६ घण्टा लुम्बिनीमा बिताउनेछन् । नेपाल सरकारको संयोजनमा लुम्बिनी विकास कोषले सम्पूर्ण कार्यक्रमको आयोजना गरेको छ । जसमा परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा प्रमुख दुर्गाप्रसाद सुवेदीले दिएको जानकारीअनुसार लुम्बिनीस्थित पाँच हजार दर्शकको क्षमता भएको बौद्ध सम्मेलन केन्द्रको सभाहलमा दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

यस्तो छ भ्रमण रुट

लुम्बिनीमा विशेष हेलिकप्टरबाट बिहान १०ः३० बजे उत्रेपछि भारतका प्रधानमन्त्री मोदीले पहिले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् । त्यसपछि लुम्बिनी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी)मार्फत बनाउन लागेको जर्मन स्तूप उत्तर विहारको प्रधानमन्त्री मोदी र देउवाले संयुक्त रूपमा शिलान्यास गर्नेछन् ।

पूजाअर्चनापछि सन् २०१४ मा नेपालमा भारतका लागि तत्कालीन राजदूत रञ्जित रेले मायादेवी मन्दिर परिसरमा (मन्दिरदेखि ३० मिटर पर) वृक्षरोपण गरेको बोधिवृक्षमा जल सिञ्चित गर्ने कार्यक्रम छ । लगत्तै पर्सा चोक, लोखडिया चोक हुँदै नौ नम्बर गेटभित्र रहेको प्लटमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी)मार्फत निर्माण गर्न लागेको विहारको शिलान्यास समारोहमा सरिक हुनेछन् ।  गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.