मोतिराज र शान्तिश्रीको आवाजमा “ नबराज गौतमको “बिर्सु कसरी” सार्वजनिक

रिपोर्ट नेपाल | 2026 Apr 22 | 02:22 pm 329

वैशाख ९ काठमाडौँ / नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” को म्युजिक भिडियो मोतिराज खनालको अफिसियल युटुव मार्फÞत सार्वजनिक गरिएको छ । सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत
गरेको छ ।

गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरले भावनालाई अझ सशक्त बनाएको छ । गीतको शब्द नवराज गौतमकै रहेको छ भने संगीत गायक मोतिराज खनालले तयार गर्नुभएको हो। संगीत संयोजन महेन्द्र भण्डारीले गर्नुभएको छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको यस गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम सम्हाल्नुभएको छ ।

गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

“बिर्सु कसरी” म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक तथा कोरियोग्राफर देवेन्द्र कुवँरले गर्नुभएको हो भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारको रहेको छ । यस गीतको कथावस्तु नवराज गौतमको वास्तविक जीवनमा घटेको एक दर्दनाक घटनामा आधारित रहेको छ ।

अत्यन्तै प्रेम गर्ने जोडी पारिवारिक दबाबका कारण छुट्टिन बाध्य हुन्छन् । परिस्थितिले असहनीय मोड लिँदा नवराजकी प्रेमिकाले अन्ततः जीवन
त्याग्ने कठोर निर्णय गर्छिन्, जसले नवराजको जीवनमा कहिल्यै नमेटिने घाउ बनेर बसेको छ । उक्त पीडा, सम्झना र बिछोडको भावनालाई “बिर्सु कसरी” मार्फत प्रस्तुत गरिएको छ।

प्रेममा धनी–गरिब वा भौगोलिक विभाजनले अर्थ नराख्ने सन्देश पनि गीतले दिन खोजेको छ । अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ। गायक मोतिराज खनालले पनि यस गीतले श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

Birsu Kasari – Sanuko Samjhanama

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.