मोटरसाइकल चोरीमा संलग्न माइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

| 2023 Aug 12 | 01:15 pm 2685

काठमाडौँ, साउन २७। काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई बिहिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवाको उत्तरगया गाउँपालिका ३ घर भइ काठमाडौँको गोलढुङ्गा बस्ने २३ वर्षीय माइकल तामाङ चोरीको मोटरसाइकल सहित नियन्त्रणमा आएका हुन् ।

बागमती प्रदेश ०२ -०३४ प ८२ ४९ नम्बरको (एन.एस.) पल्सर मोटरसाइकल गत वैशाख १ गते काठमाडौँको केशरमहलबाट हराएको भनी चितवनका सुप्रिम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित बागमति प्रदेश ०२-०३४ प १३ ६१ नम्बर राखेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी तामाङलाई हिजो यस कार्यालयको पिडित सहायताइकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.