काठमाडाैं, पुस २ : स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सानदार जित निकालेकाे छ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले लेभान्टेलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हाे ।
लेभान्टेकाे घरेलु मैदान अवेमा भएकाे खेलमा बार्सिलोनालाई सानदार जित दिलाउनका लागि कप्तान मेस्सीले ह्याट्रिक गरे भने लुइस स्वारेज र जेरार्ड पिकेले एक- एक गाेल गरे । स्वारेज र पिकेले मेस्सीकै असिस्टमा गाेल गरेका थिए ।

पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे बार्सिलोनाले दाेस्राे हाफमा तीन गाेल थपे । स्वारेजले मेस्सीकाे पासकाे सदुपयाे गर्दै खेलको ३५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि खेलको ४३औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दाेब्बर बनाए । उनले सर्जियो बुस्केट्सको लामो पासमा गोल गरेका थिए ।
पहिलाे हाफमा दुई गाेल खाएकाे लेभान्टेले दाेस्राे हाफमा तीन गाेल खायाे । दोस्रो हाफ सुरु भएको २ मिनेटमै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० काे अग्रता बनायाे । त्यसपछि खेलको ६०औं मिनेटमा मेस्सीले नै गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनाकाे लागि चाैथाे गाेल गरे । खेलकाे ७६औं मिनेमटा लेभान्टे १० खेलाडीमा सीमित भयो । लेभान्टेका खेलाडी इरिक रातो कार्ड खाँदै खेलबाट बाहिरिएका थिए ।

मेस्सीकाे ह्याट्रिकसँगै चार गाेल खाएकाे लेभान्टेलाई पिकेले फेरी एक गाेल खुवाए । उनले मेस्सीकाे पासमा ८८औं मिनेटमा गाेल गर्दै बार्सिलोनालाई ५- ० गाेल अन्तरकाे सानदार जित दिलाए ।
यो जितसँगै बार्सिलोनाले लेभान्टेसँग गत सिजन भोगेको नमिठो हारको बदलासमेत लिएको छ । सन् २०१८ को मे १४ भएको खेलमा बार्सिलोनालाई लेभान्टेले आफ्नो घरमा ५–४ ले हराएको थियो । सोही खेलबाट बार्सिलोनाको सिजनभर अपराजित रहने योजनामा लेभान्टेले पानी पोखिदिएको थियो ।

जितपछि बार्सिलोना १६ खेलबाट ३४ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत नै रहेको छ । समान १६ खेल खेलेकाे सेभिल्ला ३१ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ । सेभिल्लासँग समाना ३१ अंक रहेकाे एथ्लेटिको मड्रिड तेस्राे स्थानमा छ भने १६ खेल खेलेकाे रियल मड्रिडसँग २९ अंकसहित चाैथाे स्थानमा रहेकाे छ ।