मेलम्ची खानेपानीसहित २२ वटा राष्ट्रिय गौरवका आयोजनाको अवस्था

रिपोर्ट नेपाल | 2019 May 14 | 08:25 am 2212

काठमाडौं, वैशाख ३१ : मेलम्ची खानेपानी आयोजनासहित विभिन्न राष्ट्रिय गौरवका आयोजना निर्माणको काम लक्ष्यअनुरूप अघि नबढेर अलपत्र परेका छन् । यस्ता अलपत्र आयोजनाबारे संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चारवटा आयोजनाको अवस्था कमजोर रहेको औंल्याउँदै ती आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको समस्याबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गरेको छ । समितिको सोमबारको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौं–तराई–मधेश द्रुतमार्ग र जनता आवास कार्यक्रमबारे सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय गरेको हो ।

केही समयअघि महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६आंै वार्षिक प्रतिवेदनले पनि राष्ट्रिय गौरवका आयोजनाको अवस्था सन्तोषजनक नभएको आंैल्याएको थियो । समितिका सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजना इटाली निर्माण कम्पनीले छोडेर गएपछि कुन ढाँचाबाट अघि बढाउने भन्ने सरकारबाट निर्णय नभएकाले निर्माणको गति शून्य रहेको बताए ।

सरकारले कसरी काम अघि बढाउने भनेर निर्णय नगरेकाले गति शून्य छ भन्दै उनले अहिले यस आयोजनाले सरकारको निर्णय कुरेर बसेको जानकारी गराए । समितिका अर्का सदस्य जीवनबहादुर बुढाले कतिपय राष्ट्रिय गौरवका आयोजना पूरा गर्न दिएको अवधि र हालको प्रगति हेर्दा ठट्टा गरेजस्तो भान हुन्छ भन्दै मेलम्ची गौरवको आयोजना भनिए पनि काम गर्ने तौरतरिका र प्रगति हेर्दा सन्तोष मान्न सकिने अवस्था नभएको बताए ।

कर्णालीलगायतका हिमाली क्षेत्रका आयोजना ढिलो सुरु हुने र जाडोका कारण कात्तिकपछि काम गर्न नसकिने हुँदा पूर्वाधार निर्माणका लागि विनियोजित रकम कात्तिक महिनासम्म निष्क्रिय नहुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता पाण्डेले आंैल्याए । अर्का सदस्य खिमलाल भट्टराईले लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन पूरा गर्न बाँकी रहेको ३० प्रतिशत कामका लागि ६ अर्ब खर्च लाग्ने अनुमान गरिएको बताउँदै बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको गति पनि शून्यजस्तै भएको जानकारी गराए । द्रतमार्ग अघि बढाउने सिलसिलामा केही काम अघि बढेको देखिए पनि अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन स्वीकृत नहुनुको कारणबारे समितिले रक्षा मन्त्रालय र नेपाली सेनासँग जानकारी माग गर्ने निर्णय गरेको छ । यस राजमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ ।

बूढीगण्डकी विद्युत् आयोजना पनि कुन ढाँचामा कसले बनाउने भन्ने विषयमा सरकार समयमा टुंगोेमा पुग्न नसक्दा आयोजनाको समयावधि लम्बिएको मात्र होइन, लागतसमेत दोब्बर हुन पुगेकोतर्फ सरकार गम्भीर हुनुपर्ने समितिका सदस्यको सुझाव छ । सो आयोजना अघि बढाउने सन्दर्भमा अझैसम्म पनि कतिपय स्थानको मुआब्जासम्बन्धी विवाद कायमै रहेको र भौतिक प्रगति शून्य नै रहेको बारेमा बैठकमा छलफल भएको थियो । बैठकमा सदस्यले भेरीबबई डाइभर्सन, माथिल्लो तामाकोसी, पशुपति विकास क्षेत्र, रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, राष्ट्रपति चुरे कार्यक्रम, पूर्व–पश्चिम विद्युतीय रेलमार्गलगायतका आयोजनाको प्रगति अवस्था र कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

२२ वटा राष्ट्रिय गौरवका आयोजनाको अवस्था

महालेखाको प्रतिवेदनमा उल्लेख भएको विभिन्न २२ वटा राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये अधिकांशको प्रगति सन्तोषजनक नभएको देखिएको छ । महालेखापरीक्षकको सो प्रतिवेदनले दुईवटा आयोजनाको प्रगति शून्य देखाइएको छ भने दुईवटा आयोजनाको प्रगति ‘करिब सम्पन्न हुने खालको’ देखाएको छ । जसमा माथिल्लो तामाकोसी आयोजनाको प्रगति सबैभन्दा बढी रहेको छ । तामाकोसीको ९८ दशमलव ७ प्रतिशत काम सम्पन्न भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी, मेलम्ची खानेपानी आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । तामाकोसीबाट आगामी वर्ष विद्युत् उत्पादन हुने अपेक्षा छ तर अर्को बढी काम सम्पन्न भएको भनिएको मेलम्चीको हालत के हुने र कहिले सकिने अनिश्चित नै रहेको औंल्याएको छ । यसैगरी, प्रतिवेदनले पश्चिम सेती जनविद्युत् आयोजना र राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिको प्रगति शून्य देखाएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति पनि शून्य दशमलव २५ प्रतिशत मात्र रहेको छ ।

पुष्पलाल लोकमार्ग आयोजना ४५ प्रतिशत, बुढीगण्डकी जनविद्युत् आयोजना ११ प्रतिशत, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ५० प्रतिशत काम सम्पन्न भएको सो प्रतिवेदनले देखाएको छ । त्यसैगरी, रानी–जमरा–गुलरिया सिँचाइ आयोजनाको ४० प्रतिशत, सिक्टा सिँचाइ आयोजना ५७ प्रतिशत, बबई सिँचाइ आयोजना ५९ दशमलव ५ प्रतिशत, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना ३५ प्रतिशत, पशुपति क्षेत्र विकास कोषको ४० दशमलव २ र लुम्बिनी क्षेत्र विकास कोषको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १५ प्रतिशत, काठमाडौं तराई मधेश फास्ट ट्रयाक ४ दशमलव ६८ प्रतिशत (विवरण प्राप्त नभएको) प्रगति भएको छ । रेल्वे तथा मेट्रो विकास आयोजना १३ दशमलव ७ प्रतिशत, उत्तर–दक्षिण लोकमार्ग कर्णाली १२ प्रतिशत, उत्तर–दक्षिण लोकमार्ग कोसी ३५ प्रतिशत, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी १० प्रतिशतको प्रगति भएको छ । हुलाकी राजमार्ग आयोजनामा २५ प्रतिशत प्रगति भएको छ भने गल्छी त्रिशूली–मेलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको १८ दशमलव ११ प्रतिशत प्रगति भएको छ । आजको राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.