मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

रिपोर्ट नेपाल | 2019 Aug 02 | 12:29 pm 1941

काठमाडौं, साउन १७:  शुक्रबार  काठमाडौंको बालाजुमा  मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

उक्त खानेपानीकाे पाइप सफा गर्दा मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय शिवकान्त साह, सुरेन्द्र साह रहेका महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाले  जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा अक्सिजनको कमी भएर मृत्यु भएको डिएसपी राणाले बताए ।

उनीहरूलाई प्रहरीले बेहाेस भएकाे अवस्थामा उद्धार गरेको थियो । आधा घन्टाका प्रयासपछि उद्धार गर्दा बेहाेस अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो । उनीहरुलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत्यु भइसकेकाे जानकारी दिएका थिए ।

मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू  लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.