मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ- लामिछाने

रिपोर्ट नेपाल | 2018 Jun 23 | 04:16 pm 3576

धनगढी, ९ असार :  धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छ ।

कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहनुभएका लामिछाने २०७२ सालको विनाशकारी भूकम्पपछि पहिलो पटक धरहराको आकर्षक मूिर्त बनाएर एकाएक चर्चामा आए ।

त्यो भन्दाअघि लामिछाने साधारण माटोको चुला बनाएर आफ्नो सीपलाई अभ्यस्त गराउने प्रयत्नमा मात्र ध्यान दिनुहुन्थ्यो । सानो छँदा छरछिमेकका साथीभाइसँग खेल्ने क्रममा लामिछानेले पहिलोपटक माटाको चुलो बनाउनुभएको थियो । पछि त्यही माटाको चुलोले नै लामिछानेलाई कलाको दुनियाँमा प्रवेश गरायो । माटोको चुलो धेरैलाई मन परेपछि चुलो बिक्री गर्दै लामिछानेले आफ्नो खर्चको जोहो पनि गर्न थाले ।

अहिले उनले बनाएका विभिन्न देवीदेवताका मूर्ति, कर्णाली नदीमाथि बनेको सुदूरपश्चिम प्रदेश नम्बर ७ लाई चिनाउने दक्षिण एसियाकै नमूना ‘केबुल स्टेट ब्रिज‘ ९कर्णाली पुल०, कञ्चनपुरको महाकाली नदीमाथि बनेको एसियाकै लामो झोलुङ्गे पुल, स्वयम्भू, ताजमहल, पूर्व राजारानीका मूर्ति लगायतमा पोखिएको लामिछानेको कला सर्वत्र रुचिको विषय बनेको छ ।

आफूले बनाएका मूर्ति रु पाँच हजारदेखि रु ५० हजारसम्ममा बिक्री गर्ने गरेको बताउनुहुने लामिछाने कहाँ बेलाबखत मूर्ति खरिदका लागि आउनेको लर्को नै लाग्ने गरेको छ । “स्नातकोत्तर पढ्दै गरेको मान्छेले मूर्ति बनाउँदा रहेछन् भनेर शुरु शरुमा परिवार र साथीभाइले होच्याउँथे,” लामिछानेले भने – “अहिले त तिनै होच्याउनेहरु पनि यसै पेशाका पारखी बन्न थालेका छन् ।”

सफल मूर्तिकार बन्ने चाहना बोक्नु भएका लामिछानेले दृढ अठोटका साथ आफ्नो पेशालाई निरन्तरता दिए भएपछि पहिले नकारात्मक र घृणाको नजरले हेर्नेहरु अहिले तारीफ गर्न थालेका छन् ।

“लामिछानेले कुँदेका आकर्षक मूर्ति लोभलाग्दा र सुन्दर मात्रै छैनन्, स्थानीय प्रर्यटन प्रवद्र्धनको गतिलो माध्यम पनि बन्नसक्ने देखिएको छ, मूर्ति अवलोकन गर्दै गरेका स्थानीयवासी महेन्द्र बमले भने–“यस्तो कलाले पोख्त थप युवा हाम्रो समाजलाई चाहिएका छन् ।” देशभित्र उपयुक्त काम नभएर वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढ्दै गएका बेला रचनात्मक र सिर्जनात्मक कार्यले स्वदेशमै मनग्य आम्दानी गर्न सकिने अनुभव लामिछाने सुनाए ।

आफूले बनाएका मूर्ति बेचेर आएको रकमबाट उहाँ ललितकला प्रतिष्ठानमा अध्ययन गर्ने योजनामा छन् । छोराको मूर्ति बनाउने सीप र कलाको प्रतिभा देखेर उहाँको परिवारमा खुशीको सीमा नै छैन ।  “पढेको छोरोले कतै जागिर खाला भनेको त आफैं सीप सिकेर कमाउन थालेको छ,” मूर्तिकार लामिछानेका बुबा ढलकबहादुर लामिछानेले भन्नुभयो – “मूर्ति बिक्री गरेर मासिक रु ३० देखि ५० हजार कमाउँदा खुशी र सन्तुष्ट छौँं ।”

सीप र दृढ इच्छाशक्ति भएर सिर्जनात्मक काममा लाग्न सके आफ्नै देशको माटोले पनि आर्थिक जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने उदाहरण बन्नुभएको छ लामिछाने ।

माटोको मूर्तिमै आफ्नो भविष्य बनाउन कस्सिएका पौरखी युवा लामिछानेले अहिलेसम्म मूिर्त बनाउन कुनै पनि औपचारिक तालीम भने लिनुभएको छैन । शिवरात्री, कृष्णजन्माष्टमि, सरस्वती पूजा, दुर्गा पूजा, मेला, महोत्सवका बेलामा मूर्तिको माग बढी आउने गरेको लामिछानेले बताए ।

स्नातकोत्तर तहको अध्ययन गरिरहनु भएका लामिछाने माटो बाहेक सिमेन्ट, फाइबर लगायतका वस्तुबाट मूर्ति बनाउने ज्ञान सिक्न यससम्बन्धी औपचारिक तालीम लिने सोचमा छन्। मूर्तिकलामार्फत नै प्रदेश नं ७ का पर्यटकीय स्थललाई देश र विदेशमा चिनाउने लक्ष्य उनको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.