मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

| 2020 Feb 22 | 07:32 am 2643

मुस्ताङ, फागुन १०: मौसममा आएको बद्लीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिए। मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको जानकारी आएको उनले बताए । हिमपातसँगै उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ ।

यसैगरी हिमपातका कारण जोमसोम विमानस्थलमा हवाई उडान प्रभावित भएको छ भने जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको प्रजिअ अर्यालले बताए ।

हिमपातले मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन् । शुक्रबार पछिल्लोपटक परेको हिमपातले गर्दा मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ । मुस्ताङमा पटकपटक परेको भारी हिमपातका कारणले गर्दा कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डको जोमसोमभन्दा माथिको खण्ड भने अहिलेसम्म खुलेको छैन ।

वर्षा र हिमपातले चिसो बढेपछि मनाङको थोरङ्लापास क्षेत्र तथा म्याग्दीको दाना भएर मुस्ताङ भित्रिने पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ । हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको प्रजिअ अर्यालको भनाइ छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.