मुख्यमन्त्री–मन्त्रीलाई के नियम लाग्दैन ?

| 2022 Jan 30 | 08:26 am 997

काठमाडाैं, माघ १६ः दैनिक दस हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइरहेका छन्। कोरोनाका बिरामीले अस्पताल भरिएका छन्। ज्यानको बाजी थापेर स्वास्थ्यकर्मीहरू सर्वसाधारणलाई सेवा दिइरहेका छन्। सत्तामा बसेकाहरू भने मुलुकमा केही पनि नभए जस्तो गरी भोजभतेर, भेला, सम्मेलन र भिडभाड गरिरहेकै छन्। मानौं, सत्ता र शक्तिमा पहुँच हुनेले जे गरे पनि कोरोनाले कुनै असर गर्दैन। ‘झण्डा र डण्डा देख्नेबित्तिकै कोरोना चार कोश पर भागिहाल्छ’ जस्तो व्यवहार राजनीतिकर्मीले गरिरहेका छन्। पछिल्लो पटक मधेस प्रदेशका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले हजारांै मान्छेको भिडभाड गरेर छोरीको विवाह गरेका छन्। मुख्यमन्त्रीदेखि मन्त्री, राजनीतिकर्मी, सांसद्, नेतासहित हजारौंको बिहेभोजमा उपस्थिति देखियो। सर्वसाधारणलाई भेला, सम्मेलन गर्न रोक लगाउने प्रदेश सरकार र सुरक्षा निकायका प्रमुख नै भोजमा मस्तले सहभागी भएपछि कसले आवाज उठाउने ? स्वास्थ्य मापदण्ड र प्रशासनको निषेधको अवज्ञा गर्नेमा मन्त्री साह पहिलो भने होइनन्। कोरोनाको पहिलो र दोस्रो लहर फैलिनुमा त्यो बेलाका राजनीतिक दलका भेला, सम्मेलन र गतिविधि पनि कारक थिए। कोराना संक्रमणको दर उच्च रहँदा पनि राजनीतिक दलहरूले भेला, सम्मेलन र कार्यक्रम रोकेनन्। स्वास्थ्य मापदण्डको पालना नगरी भएका भेला, सम्मेलनबाट कोरोना भुसको आगोजस्तै सल्किएको थियो। हजारौं सर्वसाधारण संक्रमित बने। उचित स्वास्थ्य सुविधा उपलब्ध गराउन नसक्दा हजारौं नेपालीले अकालमै ज्यान पनि गुमाए।

यस पटक पनि छिमेकी भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन)को फैलावट व्यापक छ। यही बेला मुख्य राजनीतिक दलहरू महाधिवेशनमा जुटेका थिए। एमाले, कांग्रेस, माओवादी, राप्रपाका महाधिवेशनमा स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरिएन। देशभरबाट आएका राजनीतिक कार्यकर्ताबाट कोरोना गाउँ–गाउँ पुग्यो। राजधानी काठमाडौंमा पनि व्यापकता लियो। नेताहरू पनि संक्रमित भए। नेतालाई नजिकबाट भेटेका, उठबस गरेका, बधाई र सम्मान गरेका, नेतासँगै नजिक रहेका कार्यकर्ता÷सर्वसाधारण पनि संक्रमित भए। स्वास्थ्यविज्ञहरू माघको अन्तिमसम्म कोरोनाको संक्रमण दर उच्च रहने बताइरहेका छन्। तर, नेता तथा सत्तामा रहेकाहरू भने स्वास्थ्यविज्ञहरूको सुझावलाई लत्याइरहेका छन्। सर्वसाधारणलाई थुनेर आफूहरू उन्मुक्त भएजस्तो व्यवहार प्रदर्शन गरिरहेका छन्। यो मुलुककै लागि विडम्बना हो।

समाजको अगुवा, नेतृत्वकर्ता, पथप्रदर्शक, राजनीतिक दल र नेताहरू नै सरकारी नियम, कानुनको उल्लंघनमा उद्दत रहे। त्यसबाट समाजमा कस्तो प्रभाव पर्छ ? २५ जनाभन्दा बढीको भेला नगर्नु भन्ने सरकारी नियमको उल्लंघनमा उनीहरू नै अग्रसर भए भने सर्वसाधारणले मात्र उक्त नियमको किन पालना गर्ने ? अर्कोतिर महामारी र रोगले नेता–सर्वसाधारण, धनी–गरिब केही पनि भन्दैन। त्यसो हुन्थ्यो भने विकसित र सम्पन्न मुलुकमा कोही पनि बिरामी पर्न हुँदैनथ्यो। कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो। तर, आज विश्वका शक्तिशाली र सम्पन्न मुलुक नै कोरोनाका कारण थिलथिलो बनेका छन्। विश्वकै अर्थतन्त्र प्रभावित छ, मानवीय जीवन कष्टकर छ। समाज जस्तोसुकै भए पनि उसले राजनीतिक नेतृत्वमा उच्च संस्कार, नैतिकता र इमान्दारिता खोज्छ।

कोरोनाले थिलथिलो बनेको समाजलाई राजनीतिक दल र नेताहरू ‘मलमपट्टी’ लिएर अघि सर्नु पर्ने हो। तर त्यसको सट्टा समाजलाई थप जोखिमतिर धकेल्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन। केही महिना वा दिनसम्म भिडभाड नगर्दा कोरोना रोकथाम र नियन्त्रणमा सहजता हुन्छ। अनि समाजले पनि राहत पाउँछ भने राजनीतिक दल र नेताहरू किन चुप नबस्ने ? सके, कोरोनाबाट पीडित समाजलाई राहत, स्वास्थ्य सामग्री वितरण र स्वास्थ्य उपचारमा सहयोग गर्ने, त्यो नसके चुप लागेर बस्दा नै समाजलाई फाइदा हुने देखिन्छ। स्वस्थ मान्छेलाई रोगबाट संक्रमित बनाउनु पनि अपराध हो, हेक्का राख्न जरुरी छ। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.