मिटरब्याजपीडित कृषि औजारसहित सडकमा

| 2023 Apr 04 | 07:13 am 1305

काठमाडौं,चैत २१ः सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो ।

सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । गत शनिबार सरकारले पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

साथै सरकारले आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

१३ चैतमा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँचबुँदे सहमति गरेको भए पनि अर्काे समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

सोमबार काठमाडौंमा आएका मिटरब्याज पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर सोमबार पीडितले प्रदर्शन गरेका हुन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.