मालदार जिल्ला हत्याउन एसपीहरुको शक्तिकेन्द्र दौडधुप

रिपोर्ट नेपाल | 2023 Jul 04 | 01:23 pm 7705

काठमाडौं, असार १९ । नेपाल प्रहरीको विभिन्न जिल्लाको इन्चार्ज हेरफेर हुने चर्चासँगै यतिखेर कैयौं एसपीहरु थैलीभेटी देखि हार गुहार गर्दै शक्ति केन्द्र धाउन शुरु गरेका छन् भने जिल्लामा बसेर तर खान मस्त एसपीहरु दुइ चार महिना भए पनि इन्चार्ज लम्बाउन लबिङ गर्न थालेको बुझिएको छ ।

कपिलवस्तु, बारा, रौतहट, उदयपुर, धनकुटा, सुनसरी, मकवानपुर लगायतका ठाँउहरुका एसपीहरुको सरुवा हुने दिन नजिकिए सँगै यो मध्ये केहि जिल्लाका एसपीहरुले रबाफ र प्रभावमा शक्तिकेन्द्रलाई पार्न सबै औजार प्रयोग गरेको बुझिएको छ । एक वर्ष कमाण्डर बनेर पनि अपुग भएका केहि एसपी राजनीतिक देखि प्रशासनीक नेतृत्वलाई प्रभावमा पार्न भएभरका अस्त्र प्रयोग गर्न तम्तयार रहेको बताइन्छ । इन्चार्जबाट इन्चार्जमा जान नपाइने योजनालाई तुहाउनका लागि केही गण गुल्मका एसपीहरु पनि हात धोएर लागेका छन् । भनसुन र थैली भेटीका भरमा जिल्ला जान मरिहत्ते गर्ने एसपीले जिल्लामा शान्ति सुरक्षा र गैरकानूनी कार्य रोक्छन की कमाउ धन्दामा लाग्छन यो कुरालाई नेतृत्वले बुझ्न जरुरी छ । राजनीतिक पार्टीमा सत्ता लम्बाउन र टिकाउन लागे जस्तै अहिले केही एसपीहरू लम्बाउन र टिकाउन मरिहत्ते गरेर लागि परेका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले तराइका केहि जिल्लाका एसपीहरुको कार्यशैली फितलो भएको महशुस गरिरहेको बेला त्यहाँका एसपीहरु भने आफ्नो सरुवा टिकाउन विभिन्न शक्ति केन्द्र धाइरहेका छन् ।

संगठनले दिएको जिम्मेवारीलाई शिरोधार्य गर्ने कैयौं एसपी एक वर्ष देखि इन्चार्ज हुन पाएका छैनन् । तर विडम्बनाका साथ भन्नुपर्दा इन्चार्ज छोडेको ६ महिना नवित्दै छटपटाउने एसपीहरु मालदार ठाँउमा जान खुट्टा उचालेर बसेका छन् । शक्तिकेन्द्रमा पहुँच नहुनेहरुलाई संगठनका निति नियमको साङ्लोले बाध्ने तर आफू निकटका लागि त्यो नियम लागु नहुने जुन प्रवृत्ति थियो यस पटक त्यो प्रवृत्ती देखा पर्छ पर्दैन त्यो भने हेर्न बाँकी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.