माधव नेपालजी दाेष तपाईकाे की आज्ञाकारी कर्मचारीकाे ?

| 2023 Jul 13 | 10:39 am 2649

– दुर्गा देवी मगर

आजकल बिभिन्न भेलामा बोल्दै गर्दा पूर्व प्रधानमन्त्री माधव नेपाल भन्ने गर्छन् “ललिता निवासमा गलत काम करवाही गर्ने दोषीलाई छोड्नु हुन्न । कारवाही गर्नै पर्छ । सरकारलाई सहयोग गर्न हाम्रो पार्टी सदा तयार छ” (?) कति राम्रो कुरा – यत्रो नैतिकता भएका, लोकप्रीय नेता, एमालेकाे १५ वर्ष सम्म महासचिव भएका र देशको प्रधानमन्त्री भई सकेका राष्ट्रिय नेता माधव कुमार नेपाल । उनले बिर्सिएछन् – उनी प्रधानमन्त्री भएको बेला बालुवाटार प्रधानमन्त्री निवास विस्तार गर्दा यसकाे सुरुवात र अन्त्य कसरी भएको थियो भन्ने ?

एकपटक स्मरण गराउँ – बालुवाटार स्थित प्रधानमन्त्री निवासमा तत्कालीन उप-प्रधानमन्त्री विजय कुमार गच्छदार, भूमिसुधार मन्त्री, मूख्य सचिव, भौतिक योजना र भूमिसुधार दुवै मन्त्रालयका सचिवहरु, विभागीय प्रमुखहरु, सरकारी निवास मर्मत संभार गर्ने इन्जिनीयरहरु, उनकै स्वकीय सचिव लगायतलाई बोलाई २ पटक व्यापक छलफल भएको हाेइन् र ! छलफलकै क्रममा गुरुयोजना बमोजिम दुवै मन्त्रालयले मिलि चाँडो भन्दा चाँडो निवास विस्तारको काम शुरु गर्ने, सरकारी भवनसँगै निजी व्यक्तिहरुको जग्गा जोडिएको र निजी पछि सरकारी जग्गा नै रहेको कारण अत्यन्त महत्वपूर्ण पदाधिकारीहरुको निवासको साथै नेपाल राष्ट्र बैंकलाई थप सुरक्षा प्रदान गर्नका लागि  जग्गा सट्टापट्टा गर्ने पनि त छलफल भएकाे हाे नी । सुरक्षा निकायका व्यक्तिहरुले सुरक्षाको दृष्टिकोणले पेट्रोलिङ गर्न अफ्ठ्यारो परेको हुँदा प्रधान न्यायधीशको निवास देखि सभामुख निवाससम्म बाटो खोल्ने भनि तपाइले नै निर्देशन दिनु भएको थियो र  ताकेता पनि त गर्नु भएको थियो । तद्अनुरुपनै प्रस्ताव पनि मन्त्रीपरिषदमा गएको र मन्त्रीपरिषदको अध्यक्षता पनि तपाइबाटै भएको थियो । भौतिक योजना मन्त्रालयबाट दुइवटा र भूमिसुधार मन्त्रालयबाट एउटा गरि ३ वटा प्रस्ताव तपाईकै प्रधान मन्त्रीत्वमा भएको थियो । ती प्रस्तावहरु स्वीकृतभै आएपछि मात्र सम्बन्धित मन्त्रालय मातहतबाट स्वीकृत प्रस्ताव बमोजिम कामहरु भएका थिए ।

अब भन्नुहोस – यो विस्तार कार्य गर्न निर्देशन दिने तपाई, ताकेता गर्ने तपाई, निणर्य गर्ने तपाई, विस्तारित भवनको सुविधा उपभोग गर्ने तपाई, छोटो बाटो प्रयोग गर्ने तपाई अनि मुद्दा खेप्ने, तारीख धाउने, घर छोडेर लुक्नु पर्ने तपाइको निर्देशन कार्यान्वयन गर्ने विचरा निरिह कर्मचारीहरु । तपाइ भाषण गर्दै अझै दर्शन छाट्दै हिड्ने ?

सम्पूर्ण कागजात त सार्वजनिक भै सके । तपाइका निर्देशन र निणर्य सार्वजनिक भै सके । अझै तपाई र तपाई जस्तै निणर्यकर्ता डा. बाबुराम भट्टराई भने उपदेश दिदै आफूलाई चोखो सावित गर्दै दाेष जति निमुखा कर्मचारीहरुलाई दिइरहनु भएको छ । अब तपाई जस्ता प्रधानमन्त्रीले दिएको आदेश कर्मचारीहरुले मान्ने कि नमान्ने ?

हुनत पूर्व प्रधानमन्त्री केपि शर्मा ओली पनि तपाइ भन्दा कम हुनुहुन्न । उहाँ आफूले गरेका निणर्यको रक्षा गर्दै जे बोल्न, भन्न र अरुलाई उपदेश दिन खप्पिस हुनुहुन्छ । त्यसैकारण उहाँका पालाका ठूला – ठूला भ्रस्टाचारका फाइल खोलिएका छैनन् । तपाइ भने अरु फसुन- आफू बाँचौ भन्ने संकीर्ण विचार राखेर बोल्दै हिड्नुहुन्छ ।

के नेपालका प्रधानमन्त्रीले यसैगरी आफ्नो बचाउ गर्दै निरिह, निरपराध, आज्ञाकारी कर्मचारीहरुलाई डण्डित गर्दै, आफ्ना अपराध लुकाउन अरु माथि दोष थुपार्दै कहिले सम्मलाई शासन गर्दै जाने हो त ? भगवान पशुपतिनाथले सबैको रक्षा गरुन भनौ भने आफ्नो जलहरी समेत बचाउन नसक्ने भै सके । अब कस्को शरण पर्ने हो । तपाइले जवाफ दिनु हुन्छ की कमरेड ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.