काठमाडौँ १५ फागुन । माओवादी केन्द्रका पार्टीका शीर्षनेता तथा प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बसिरहेको छ।
माओवादी केन्द्रका अनुसार आइतबारपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।
हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।
तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको माओवादी केन्द्रले जनाएको छ । माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित रहने जनाइएको छ।
बैठक आज बिहान साढे आठ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।