महोत्तरीमा गोली प्रहार गरी दश लाख लुटपाट, लुटेराको गोली लागेर पाँच घाईते

| 2018 Sep 08 | 10:38 am 2095

जलेश्वर, भदौ २३ :  महोत्तरीको भंगहामा गए राति लुटेरा समूहले गोली चलाउँदा पाँच जना घाइते भएका छन् । राति १२ बजे तिर दश जना भन्दा बढीको समूहमा आएको ती समूह अर्जुन भुजेलको घरमा लुटपाट गर्न आएका थिए । गोली प्रहारबाट घरमुली भुजेल गम्भीर घाइते भएका छन् ।

त्यस्तै गरी लटेराहरुको प्रतिकारका गर्न आएका भुजेलका छिमेकीको मोटरसाइकलमा पनि बम प्रहार गरेको भुजेलले बताएका छन् । घटनामा अर्जुन भुजेलसहित उनकी श्रीमती ४२ वर्षीया अञ्जुु भुजेल, छोराहरू २५ वर्षीय अमित भुजेल र १८ वर्षीय दिपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । उनीहरूको बर्दीवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अबेर राती अर्जुनको घरमा लुटपाट गर्न आएका लुटेरा समूहले नगद सहित करिब १० लाख बराबरको गरहगना लुटेका छन् । अर्जुनकी श्रीमती र आमाले कानमा लगाई राखेको सुनको गहना समेत लुछेर लगेको छ । यता प्रहरीले सोही आरोपमा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ ।

घटना स्थलबाट रातो कपडामा बेरिएको सुतली बमको टिना तीन थान र गोलीको खोका तीन थान फेला परेको प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.