महासमितिको नयाँ मितिको तयारीमा कांग्रेस, अाज केन्द्रीय समिति बैठक

| 2018 Nov 05 | 06:30 am 1494

काठमाडौं,  कात्तिक १९ : ५ देखि ९ मंसिरका लागि तय महासमिति बैठक समयभित्रै गर्न नसक्ने भएपछि नेपाली कांग्रेसले केही साता सार्ने गरी नयाँ मितिको तयारी गरेको छ ।

नयाँ संरचनाअनुसारको पार्टीको विधानलाई तयार गरिरहेको कांग्रेसले विधानभित्रका कतिपय विषयमा नेताहरुबीच असहमति कायम रहेपछि महासमिति नै सार्ने तयारी गरिएको हो ।

नयाँ विधानमा नेतृत्वको अधिकार, निर्वाचन प्रणाली, पार्टी सदस्यता, केन्द्रीय समितिको आकारलगायतका विषयमा नेताहरुबीच असहमति रहँदै आएको छ ।

त्यसकारण, पूर्वनिर्धारित बैठक केही साताका लागि सर्न सक्ने संकेत गत शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले दिएका थिए ।

कांग्रेसले अाज केन्द्रीय समिति बैठकसमेत बोलाएको छ । सोही बैठकले महासमितिका विषयमा निर्णय लिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘हामीले महासमिति ५ देखि ९ मंसिरका लागि तय गरेका हौं । समय कम छ । दिनरात गरेर काम गर्दा त सकिएला तर सर्ने भयो भने पनि धेरै पर लाने काम छैन । छलफलबाटै निष्कर्ष आउला,’ सहमहामन्त्री महतले राजधानीसँग भने ।

कांग्रेस संस्थापन पक्ष नयाँ विधानमा सभापतिलाई हालको विधानमा रहेभन्दा केही अधिकार थप गर्ने पक्षमा छ भने इतर पक्ष भएको व्यवस्थालाई समेत घटाएर अघि बढ्ने पक्षमा छ ।यस्तै, पार्टीका विभिन्न विभागको पूर्ति पनि निर्वाचनमार्फत नै हुनुपर्नेमा संस्थापनइतर पक्ष रहँदै आएको छ ।

नेता अर्जुननरसिंह केसीले नयाँ विधान बनाउँदा पदाधिकारीसहित विभागहरुको पूर्ति पनि निर्वाचनमार्फत नै गरिने गरी विधानमा व्यवस्था गरिनुपर्ने बताए ।

‘हामी पार्टीको विधानमा सबै प्रक्रिया निर्वाचन प्रणालीमार्फत नै होस् भन्ने प्रस्ट धारणा राखेका छौं । पदाधिकारीदेखि विभिन्न विभागसमेत निर्वाचन प्रक्रियाबाट नै हुनुपर्छ,’ नेता केसीले भने ।

यसअघि नेपाल विद्यार्थी संघको विधान संशोधन प्रक्रियालाई लिएर २१ असोजमा बसेको केन्द्रीय समिति बैठकबाट नेताहरुबीच विवाद सुरु भएको थियो ।

सो बैठकमा विवाद भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले निर्णयमा नोट अफ डिसेन्ट लेखेर बाहिरिएका थिए । त्यसपछि २५ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठकसमेत नेविसंघ विधानको विवादकै कारण स्थगित गरिएको थियो ।

बैठक बहिष्कार गरेका नेताहरु मंगलबार (भोलि)को केन्द्रीय समिति बैठकमा भने सहभागी हुनेछन् ।

वरिष्ठ नेता पौडेलले बैठक त्यसबेलाको निर्णयका आधारमा बहिष्कार गरिएको तर मंगलबार भने उपस्थित हुने जानकारी दिए ।

बैठकमा महासमिति बैठक, विधान मस्यौदा समितिले तयार पारेको पार्टीको विधान मस्यौदा, नेविसंघ महाधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.