महानिरीक्षक खनालबाट नेपाल एपीएफ स्कुल कोहलपुरको उद्घाटन सम्पन्न

| 2020 Dec 04 | 08:02 am 1738

बाँके मंसिर १९ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँके जिल्लाको कोहलपुर नगरपालिका २ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको उद्घाटन गरेका छन् । त्यसअवसरमा उनले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने चर्चा गर्दै प्रदेश स्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकास सँगै राष्ट्र सम्बृद्धिको बाटोमा अगाडी बढ्ने चर्चा गर्दै हाम्रो जस्तो विकासशिल देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताए ।
महानिरीक्षक खनालले नेपाल एपीएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै हालको जटिल अवस्थामा समेत विद्यालय संचालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधनश्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पुर्याएको योगदानको विभिन्न क्षेत्रहरुबाट प्रशंसा गरेको बताएका थिए।

सो अवसरमा कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने चर्चा गर्दै स्कूलको विकास तथा स्तरउन्नतीका लागि सदैव सहयोग रहिरहने प्रतिबद्धता जाहेर गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ईन्द्रराज कार्कीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै सर्वसाधारण नागरिकका सन्ततीहरुले समेत स्थानीय स्तरमा गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा प्राप्त गर्ने बताएका थिए । विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको कुरा कार्यक्रममा जानकारी गराईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.