महाधिवेशन प्रतिनिधि ज्ञवालीलाई मातृशोक

रिपोर्ट नेपाल | 2019 May 07 | 08:00 am 1810

काठमाडौं, वैशाख २४:  नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि मोहन ज्ञवालीलाई मातृशोक परेको छ । लामो समयदेखि मेनिन्जाइटीस रोगबाट पीडित ८१ वर्षीया लिलादेवी ज्ञवालीको मंगलबार बिहान १ बजे पशुपती आर्यघाटमा निधन भएको हो ।

एक्कासी स्वास्थ्यमा खराबी देखिए पछि ज्ञवालीलाई बुटवलको अञ्चल अस्पतालमा दश दिन आइसियु कक्षमा राखेर उपवचार गरिएको थियो । बुटवलमा उपचारार्थ रहेका समयमा स्वास्थ्य लाभको कामना गर्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गगन थापा अस्पताल पुगेका थिए ।

बुटवलमा रहेको अञ्चल अस्पतालमा स्वास्थ्यस्थितिमा सुधार नआएपछि उनलाई काठमाडौंको जोरपाटीमा रहेको मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो । आठ दिनदेखि आइसियु कक्षमा उपचार गराउँदा समेत स्वास्थ्यस्थितिमा सुधार नआएपछि अन्तिम घडीमा आर्यघाट लगिएको थियो ।

चिकित्सकले समय सिमा तोकिदिएपछि ज्ञवालीको अग्रिम इच्छा बमोजिम अन्तिम स्वास समाप्तिका लागि आर्यघाटमा लगिएको थियो । आर्यघाट लगिएको झण्डै दश घण्टामा ज्ञवालीको निधन भएको परिवार स्रोतले बताएको छ ।

मंगलबार बिहानै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मृतकलाई श्रद्धाञ्जली र परिवारजनलाई समवेदना दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी आर्यघाट पुगेका थिए ।

नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रताप सेनले पनि मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । मंगलबार बिहानै श्रद्धाञ्जली र समवेदना प्रकट गर्न नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, बरिष्ठ उपाध्यक्ष एमटी भुसाल, महासचिव सोमनाथ गिरी पनि कृयापुत्री भवन पुगेका थिए । मृतक ज्ञवालीका दुई छोरा एक छोरी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.