महराको बयान सकियो, आइतबार थुनछेक बहस हुने

रिपोर्ट नेपाल | 2019 Nov 01 | 06:45 pm 2067

काठमाडौं, कात्तिक १५: संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।

अदालतमा बयान लामो भएपछि थुनछेक बहस हुन नसकेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

महराको थुनछेक बयान जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र लिइएको थियो । शुक्रबार बयान नसकिएकाले आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडिएको बताइएको छ ।

बयानमा महराले वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् ।

गत १९ असोजमा पक्राउ परेका महरालाई केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखेका थिए । तर, उनका स्वास्थ्य अस्वस्थ भएको भन्दै अस्पताल भर्ना गरिएको थियो । त्यसयता उनी ग्राण्डी अस्पतालमै रहदै आएका छन् ।

महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो । आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.