झापा, भदौ १: बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका-१ का अमृत कटुवाल वडा कार्यालय पुगे। बिमा सुविधा पाउनका लागि उनले सिफारिस लिनु थियो। तर, सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर वडा कार्यालयले लिएपछि उनी आश्चर्यचकित परे।
‘बाख्रा मरेर पीडामा छु’, उनले भने, ‘केही रकम बिमाबाट आउला कि भनेर सिफारिस बनाउन आएको त उल्टै यत्रो रकम करका नाममा तिर्नुपर्यो।’ नगरपालिकाले मरेको पशुको सिफारिसदेखि जिउँदो पशु बिक्री र कृषिजन्य सामग्री सबैमा चर्को कर लगाएपछि स्थानीय आक्रोशित बनेका छन्। ‘करले गर्दा अब नागरिकको जीवन कसरीमाथि आउला ? ’, गौरादह–३ का याम बुढाथोकीले प्रश्न गरे। करजति खेतीकिसानी गरेर जीविकोपार्जन गर्नेको थाप्लोमा हालेको उनको गुनासो छ।
अर्जुनधारा नगरपालिकाले पनि किसानको ढाड सेक्ने गरी कर लगाएको गुनासो स्थानीयले गरेका छन्। नगरपालिकाले हटियामा बिक्रीका लागि किसानले ल्याएको कुखुरादेखि मकैको च्याख्लासम्ममा कर लगाएको छ। स्थानीयले अब हटियामा गएर बिक्री गरेका प्रत्येक कृषिजन्य वस्तुको कर तिर्नुपर्ने भएको छ। कुखुरामा तीन, परेवामा दुई, बाख्रामा सात, पाठामा सात, गाईगोरुमा १० रुपैयाँ कर तोकिएको छ। यसरी ससाना कृषिजन्य वस्तुमा पनि कर लगाइएपछि नगरपालिकाको नीतिप्रति स्थानीय आक्रोशित भएका छन्।
‘किसानले दुःख गरेर हुर्काएको पशुपंक्षीदेखि तरकारी र चामलमा पनि नगरपालिकाले कर लगाएको छ, किसानका लागि सुविधा भने केही छैन’, अर्जुनधारा–५ का रमेश पोख्रेलले भने, ‘स्थानीय तह आएपछि किसानलाई राहत होइन सास्ती भएको छ।’
नगरपालिकाले बाँसमा प्रतिघना दुई, चामलमा प्रतिक्विन्टल पाँच, मकैको च्याख्लामा दुई रुपैयाँ कर लगाएको छ। यसरी सबै कृषिजन्य सामग्रीमा कर लगाएपछि किसानको रोजीरोटीमै समस्या आउने स्थानीयको गुनासो छ। ‘नगरपालिकाले डोको र चित्रा अनि भकारीमा पनि कर लगाएको रहेछ। एक–दुई पैसा आउला र जीविका चलाउँला भन्ने थियो, अब यसरी कर लागाएपछि कसरी जिउने ? ’, अर्जुनधारा–६ पाथीभरा टोलका सुनाम राजवंशी प्रश्न गरे।
नगरपालिकाले किसानले निर्माण गरेर बिक्रीका लागि बजार ल्याउने डोकोमा पनि १ रुपैयाँ कर लगाएको छ। यस्तै चित्रा र भकारीमा ३ रुपैयाँ असुल्ने नगरपालिकाले जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको बजेट पुस्तिकामा चुर खाने पेपरमा प्रतिरिम सात रुपैयाँ कर लाग्ने उल्लेख छ। यसैगरी खाली टिनबाट पाँच रुपैयाँ असुल्ने नगरको योजना रहेको छ। जबकि खाली टिनको मूल्य २० रुपैयाँ मात्र रहेको व्यापारी बताउँछन्।