मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य फेला

रिपोर्ट नेपाल | 2019 Aug 20 | 07:18 am 1950

नेपालगन्ज, भदाै ३: पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्।

इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ। यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ। गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको पाइएको छ। कतिपयले आफ्नो नाममा पारिएको जग्गा बिक्रीसमेत गरिसकेका छन्।

मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए। जग्गाधनीले रैकरबापत ‘राजगुठी’ अन्तर्गत दर्ता भएको बागेश्वरी गुठी व्यवस्थापन समितिलाई मालपोतका रुपमा वार्षिक ७ हजार रुपैयाँ बुझाउँदै आएको उनले जानकारी दिए। समितिका अनुसार गुठीको जग्गामा बसोबास गरेका व्यक्तिसँग राज्यले केही शुल्क लिएर त्यसलाई उनीहरूका नाममा पास गरिदिने व्यवस्था ‘रैकर’ हो।

‘बागेश्वरी मन्दिरको यति धेरै जग्गा कुन समयमा, कसरी र कुन प्रक्रियाबाट व्यक्तिका नाममा गयो भन्ने छानबिन चलिरहेको छ,’ सचिव अधिकारीले भने, ‘कुन कानुनमा टेकेर गुठीको जग्गा रैकरमा परिणत गरियो, त्यसको छानबिन हुनु जरुरी छ।’ यस विषयमा समितिले सूक्ष्म रूपले छानबिन गरिरहेकाले सबै कुरा बोल्न नमिल्ने उनले बताए। मन्दिरको सम्पत्ति छानबिन गर्न चुनौतीपूर्ण रहेको पनि उनले स्पष्ट पारे। ‘सरकारी अड्डाबाट कागजात पाउनै मुस्किल छ। कहिले कर्मचारी नहुने, कहिले भएका कर्मचारीले पनि काम नगरिदिने,’ सचिव अधिकारीले भने, ‘मन्दिरको जग्गा पत्ता लगाउनै मात्र डेढ वर्ष लाग्यो। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.