मन्दिर फुटाएर घण्टी र मूर्ति चोरी गर्ने तीन युवा पक्राउ

| 2022 Dec 03 | 07:10 am 1469

लमजुङ, मङ्सिर १७ः लमजुङको बेंसीशहर नगरपालिकाका विभिन्न ठाउँबाट मन्दिरहरू फुटाई मन्दिरमा रहेका सामग्रीहरू चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मन्दिरहरू फुटाई मन्दिरमा रहेका मूर्ति, घण्टी, कलशलगायतका धातुका सामाग्री चोरी भएको भन्ने उजुरी जिल्ला प्रहरी कार्यालय लमजुङमा आएको थियो । उजुरीपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुलाई खोजी गर्नका लागि विशेष टोली खटाई खोजतलास तथा अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा मन्दिरका सामानहरू चोरी गरी बेचबिखन गर्ने तीन जनाको गिरोहलाई पक्राउ गरी चोरी भएका समानहरू समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा संलग्न बेंसीशहर नगरपालिका ११ घर भई हाल वडा नं. ८ बस्ने २४ वर्षीय राजु परियार, बेंसीशहर नगरपालिका ८ बस्ने २० वर्षीय विनोद तामाङ र रौतहट घर भई हाल बेंसीशहर नगरपालिका वडा नं. ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने राम किश्वर राउतलाई पक्राउ गरेको हो । उनीहरूले मन्दिरमा रहेका मूर्तिलगायतका धातुका सामग्री चोरी गरी चितवनको नारायणघाटमा बिक्री वितरण गर्ने गरेको खुल्न आएको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। चोरी कार्यमा संलग्न तीन जनालाई शुक्रवार जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चोरी गरेको सामग्रीमा शिवको मूर्ति एक थान, गणेशको मूर्ति (टुक्रिएको अवस्थाको) एक थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको ६४ थान, ढलोटको सानो पाला ६३ थान, तामाको सानो दियो २७ थान, तामाको टिका राख्ने थाली १९ थान रहेको छ ।

यस्तै, घण्टी १० थान, फुटाएको घण्टी ६ थान, पानस २ थान, ७ वटा बत्ती भएको पानस २ थान, चरेसको थाली २ थान रहेको प्रहरीले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.